भरतपुर, २ पुस ।
शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठान चितवनले स्व. शिवप्रसाद पौडेलको स्मृतिमा श्री बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ संस्कृत गुरुकुलका ८२ जना छात्रलाई स्वास्थ्य परीक्षण तथा सामग्री वितरण गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले छात्रलाई ब्याग र कपडा हस्तान्तरण गर्नुभयो । उहाँले प्रतिष्ठानले सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य शिविरमार्फत आँखा र दन्त उपचारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
सो अवसरमा बागेश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष अशोक पोखरेल शर्माले स्व. पौडेलको सामाजिक योगदानको स्मरण गर्नुभयो भने नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले प्रतिष्ठानको सामाजिक गतिविधिको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्य, पौडेल परिवार तथा आश्रमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । स्व. शिवप्रसाद पौडेलको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।





