तनहुँ, २४ मङ्सिर ।
शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडामा केन्द्रीय कार्यालय रहेको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा अत्यावश्यक भौतिक सामग्री, खाद्यान्न तथा नगद वितरण गरेको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–३२, लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा आश्रित बृद्धाहरूलाई लक्षित गरी उक्त वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
राधाकृष्ण वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षता तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटा, आश्रम सञ्चालक समितिका प्रथम उपाध्यक्ष शोभामोहन पौडेललगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले गर्नुभएको थियो ।
उद्घाटनपछि बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटाले दिनभर काममा व्यस्त छोराछोरीले बिहान–बेलुका मात्र खाना दिए पनि वृद्ध बुबाआमा शहरका बन्द कोठामा बस्दा भन्दा आश्रममा बसेका बृद्धबृद्धामा देखिने खुसी र सन्तुष्टिले आफू प्रभावित भएको बताउनुभयो । साथै आश्रमले निर्वाह गर्दै आएको जिम्मेवारीको प्रशंसा पनि गर्नुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले संस्थाको स्थापनाकालदेखि नै प्रत्येक वर्ष यही वृद्धाश्रमसँगै जोडिन पाउनु संस्थाका लागि गर्वको विषय भएको बताउनुभयो । आश्रममा आश्रित वृद्ध बुवा–आमाको आशीर्वादकै कारण संस्था आज सहजै नौ वर्ष पार गर्न सफल भएको बताउँदै उहाँले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आश्रमका प्रथम उपाध्यक्ष शोभामोहन पौडेलले झण्डै नौ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको लघुवित्त संस्थालाई धन्यवाद दिँदै यसको सहयोगले वृद्धबृद्धाको खानपान, पालनपोषण तथा उपचारमा उल्लेख्य सहयोग पुगेको बताउनुभयो । त्यस्तै, अध्यक्ष विश्वराज लामिछानेले वित्तीय संस्था भनेको आर्थिक कारोबार मात्र गर्ने भन्ने सामान्य धारणा तोड्दै गणपति लघुवित्तले हरेक वर्ष उदाहरणीय सामाजिक कार्य गर्दै आएकोमा आभार व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
संस्थाले प्रत्येक वर्ष यसै आश्रमलाई सहयोगका लागि रोज्नुले दुवै संस्थाबीच ‘नङ र मासु’ जस्तै घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा वित्तीय संस्थाका विभिन्न विभागका प्रमुख तथा कर्मचारी, आश्रमका पदाधिकारी तथा ४० भन्दा बढी वृद्ध बुबाआमाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका अधिकृत तिलकबहादुर भण्डारीले गर्नुभयो ।
त्यस्तै, संस्थाले आफ्नो नवौं वार्षिकोत्सव अन्य शाखाहरूबाट पनि विविध सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत मनाएको छ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न जिल्लामा रहेका ४३ शाखा कार्यालयमार्फत करिब ३६ हजार सदस्यलाई बैंकिङ सेवा पुर्याउँदै आएको छ । वित्तीय कारोबारसँगै संस्थाले विभिन्न संघ–संस्थासँग समन्वय गरी सामाजिक उत्तरदायित्वका कार्यहरू पनि निरन्तर रूपमा गर्दै आएको छ ।





