मकवानपुर, १९ कात्तिक ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका महिलामैत्री शहर हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय युएनओपिएसबिच परियोजना सहयोग सम्झौतामा मंगलबार हस्ताक्षर भएसँगै हेटौंडा महिलामैत्री र जलवायु प्रतिरोधी शहरको रूपमा विकास हुने भएको हो ।
सम्झौता अनुसार युएनओपिएसको ‘सिटीज फर वुमनः नेपालमा समावेशी र जलवायु प्रतिरोधी शहरीकरण’ परियोजनाले उपमहानगरपालिकालाई १ लाख ८४ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउनेछ । परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले ३० प्रतिशत लागत सहभागिता समेत गरि करिब ३ कराेड ५० लाख रुपैयाँको लागतमा योजना कार्यान्वयन गरिने छ ।
महिला मैत्री सहर निर्माण अभियान अन्तरगत हेटौंडाका विभिन्न सार्वजनिक क्षेत्रहरुलाई व्यवस्थित र सुविधा सम्पन्न बनाईने छ ।
युरोपेली सङ्घ र सुओमी फिनल्याण्डको आर्थिक सहयोगमा युएनओपिएस, युएन– हाविटाट र सिटिज एलायन्सद्वारा संयुक्त रूपमा चार वर्षको अवधिमा परियोजना कार्यान्वयन गरिने बताइएको छ ।
मंगलबार भएको सम्झौताले स्थानीय तहका योजनाहरूमा समावेशी र जलवायु प्रतिरोधी शहरी विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने नगरपालिकाले विश्वास गरेको छ ।





