चितवन, २४ असोज ।
कालिका नगरपालिकामा दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । कालिका नगरपालिका वडा नम्बर ८ मा रहेको हेल्पफूल साइमन स्पोर्ट्सको आयोजनामा गैरीबारी चोक खेल मैदानमा कात्तिक १५ गतेबाट प्रतियोगिता सुरु गर्न लागिएको हो ।
प्रतियोगितामा विभिन्न जिल्लाका ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता हुने टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, उप विजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विवाहित महिलाहरुको लुङ्गी फुटबल प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।
प्रथम संस्करणको प्रतियोगिता सम्पन्न गरि अनुभव बटुलेको हेल्पफुल साइमन स्पोर्ट्सले दोस्रो संस्करणलाई व्यवस्थित, सौहार्दपूर्ण र उत्साहजनक वातावरणमा सञ्चालन गर्ने लक्ष्य लिएको स्पोर्ट्सका प्रशिक्षक तथा संस्थापक सजिन श्रेष्ठले जानकारी दिए । दोस्रो संस्करणको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने हुँदा अझ रोमान्चक हुने उनले बताए ।
उनका अनुसार हेल्पफुल साइमन स्पोर्ट्स चितवनमा महिला फुटबलका खेलाडी उत्पादन गर्ने एकेडेमीको रुपमा परिचित छ । विभिन्न प्रतियोगितामा सहभागी भई सफलता हात पारिसकेको क्लबले महिला फुटबललाई स्थानीय स्तरमै सशक्त रुपमा स्थापित गर्ने उद्देश्यले आफ्नो गतिविधिहरू अघि बढाउँदै आएको उनले बताए ।
खेलकुदमार्फत सामाजिक एकता र महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्य रहेको र महिला खेलाडीहरु उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी गराउन साइमन स्पोर्ट्स निरन्तर लागिरहेको जनाइएको छ । स्पोर्ट्सका प्रशिक्षक समेत रहेका सजिनले सबैको सहयोगले महिला खेलाडीहरुलाई प्रशिक्षण सञ्चालन गरिरहेको र स्पोर्ट्सका आगामी कार्यक्रममा समेत सबैको सहयोग रहने अपेक्षा रहेको बताए ।