काठमाडौं, १८ असोज ।
शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि अति भारी वर्षा भने भइसकेकाे छैन । पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै वर्षा पर्साकाे वीरगन्जमा ११०. १ मिलिमिटर मापन भएकाे छ ।
आज शनिबार साँझदेखि आइतबार बिहान ८ बजेसम्म त्यसमा पनि राति १० बजेदेखि राति २ बजेसम्म अतिभारी वर्षा गराउने सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागका महानिर्देशक कमलराम जाेशीले बताए ।
ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहित सरकारी अधिकारीलाई हालकाे माैसमी अवस्थाबारे शनिबार ब्रिफङ गर्दै महानिर्देशक जाेशीले भने, `मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका वासिन्दालाई विशेष सचेत रहन अनुराेध गर्दछु । यात्रामा निस्कँदा विशेष सावधानी अपनाउनु हाेला ।´ २४ घन्टामा २०० मिलिमिटर वा त्याेभन्दा बढी वर्षा भएमा भारी र ३०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी हुन्छ । यद्यपि, भूगाेलअनुसार याे मापदण्ड फरक-फरक छ ।
महानिर्देशक जाेशीका अनुसार विभागले भारीदेखि अतिभारी वर्षाकाे आकलन गरिएका १७ जिल्लामा रेडअलर्ट जारी गरेकाे छ । आइतबार बिहानसम्मका लागि काेशीका सुनसरी र उदयपुरमा रेडअलर्ट छ । त्यस्तै, मधेशका आठवटै जिल्ला सप्तरी, सिराहा, धनुषा, महाेत्तरी, सर्लाही, राैतहट, बारा र पर्सामा रेडअलर्ट छ । बागमतीका सिन्धुली दाेलखा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवनमा पनि रेडअर्लट जारी भएकाे छ । `यी जिल्ला र आसपासका क्षेत्रमा विशेष सावधानी अपाउनुपर्ने देखिन्छ,´ उनले भने ।
त्यस्तै, अरू जिल्ला पनि बाढीपहिराेकाे उच्च जाेखिममा छन् । काेशीका झापा, माेरङ, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम, भाेजपुर, घाेटाङ, ओखलढुंगा, साेलुखुम्बु र संखुवासभा जाेखिममा छन् ।
गण्डकीकाे गाेरखा र गण्डकीकाे पूर्वी नवलपरासी पनि जाेखिममा परेका छन् । लुम्बिनीका नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा अलर्ट रहेर आइतबार बिहानसम्म ध्यान दिन उनले अनुराेध गरे ।
आइतबार बिहानबाट भने वर्षा गराउने प्रणाली पूर्वी नेपालमा केन्द्रित हुनेछ । आइतबार पूर्वी तराई र मध्य पहाडी क्षेत्रमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । साेमबार बिहानबाट सिस्टम मत्थर भएर जाने र वर्षा कम हुनेछ ।





