अन्यथा नभएमा सानाए ताकाइची अक्टोबर १५ मा जापानको ईतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्
टोकियो/जापान– जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षीय चुनाव आज अक्टोबर ४ मा सम्पन्न हुँदा पूर्व आर्थिक सुरक्षा मामिला मन्त्री सानाए ताकाइची निर्णायक मतदानमार्फत विजयी भइ २९ औँ अध्यक्षमा निर्वाचित भएकी छिन् । लगातार ३ पटकको प्रयासपछि ताकाइची अध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन् ।
अध्यक्षका लागि ५ जना प्रतिस्पर्धामा रहेकोमा पहिलो चरणमा कसैको पनि पर्याप्त मत नआएपछि दोस्रो चरणमा सबैभन्दा बढि मत ल्याउने २ जना उम्मेदवारका बीचमा मतदान भएको थियो । दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी पूर्व आर्थिक सुरक्षा राज्यमन्त्री ताकाइची सानेले कृषि, वन तथा मत्स्यपालन मन्त्री कोइजुमी शिन्जिरोलाई पराजित गर्दै एलडीपीको अध्यक्षमा ताकाइची निर्वाचित भएकी हुन् । ताकाइचीले १८५ मत प्राप्त गरे भने कोइजुमीले १५६ मत प्राप्त गरे ।
जापानमा वर्षौंदेखि सरकारमा नेतृत्व गरिरहेको पार्टी एलडीपीको अध्यक्षमा निर्वाचित हुने ऊनी पहिलो महिलापनि बनेकी छिन् । यति मात्रै होईन,आउँदो अक्टोबर १५ मा आह्वान हुने तयारी भइरहेको अस्थायी संसद् अधिवेशनमा १०४औँ प्रधानमन्त्रीका रूपमा ताकाइचीलाई चयन गरिने सम्भावना पनि रहेको छ । यसो भएमा उनी जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्ने छिन् ।
ताकाइचीले समाचार वाचका (न्यूज क्यास्टर)को रूपमा टेलिभिजनमा करिअर सुरु गरेकी थिइन् । १९९३ मा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित भइन् । त्यसपछि स्वतन्त्र दल, स्वतन्त्र सुधार संघ, शिन्सिनतो लगायतका दलमा रहेर १९९६ मा एलडीपीमा प्रवेश गरिन् ।
२००५ मा केही समय पार्टी परित्याग गरेकी उनले २००६ मा तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको सरकारमा विशेष कार्यभार मन्त्रीका रूपमा पहिलो पटक मन्त्री बन्ने अवसर पाइन् । २०१२ मा उनी एलडीपीको नीतिगत अनुसन्धान परिषद्की पहिलो महिला अध्यक्ष बनिन् । यसबाहेक उनी आन्तरिक मामिला तथा सञ्चार मन्त्री, आर्थिक सुरक्षा मामिला मन्त्री लगायत महत्वपूर्ण पदमा रहेर काम गरिसकेकी छिन् ।
गत वर्षको अध्यक्षीय चुनावमा पनि उनले उम्मेदवारी दिएकी थिइन् । पहिलो चरणको मतदानमा शीर्ष स्थानमा रहे पनि, दोस्रो चरणको निर्णायक मतदानमा इसिबा शिगेरुबाट पछि परेकी थिइन् । तर यस पटक तेस्रो प्रयासमा उनले पहिलो पटक महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।
ताकाइचीले विजयी भएपछि दिएको वक्तव्यमा भनिन् – `म गधाजस्तै अहोरात्र खटिनेछु । वर्क-लाइफ ब्यालेन्सको कुरा अहिलेका लागि बिर्सनुपर्छ ।´