काठमाडौं, १२ असोज ।
पहिलो टी–२० भेटमा नेपालले वेष्ट इन्डिजलाई हराएको छ । शारजाहामा शनिबारदेखि सुरु भएको यूनिटी कप सिरिजको पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको हो ।
टस हारेर पहिले ब्याटीङ गरेको नेपालले १४८ रन बनाएको थियो। जवाफी ब्याटीङमा वेष्ट इन्डिज १२९ रनमा समेटिएको हो ।
आइसिसीको फुल मेम्बर टिमविरुद्ध नेपालको यो पहिलो जित हो । जसकारण यो जित नेपालका लागि ऐतिहासिक बनेको छ।
उत्कृष्ट बलिङको मद्दतमा नेपालले यो जित निकालेको हो। नेपालका लागि कुशल भुर्तेलले चार ओभरमा २ विकेट लिएर १७ रन मात्र दिएका थिए । त्यस्तै, रोहित पौडेल, ललित राजबंशी, दीपेन्द्रसिंह ऐरी, नन्दन यादब र करण केसीले १/१ विकेट हात पारे ।
ब्याटीङतर्फ नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रन बनाए । त्यस्तै, कुशल मल्लले ३०, गुल्सन झाले २२ र दिपेन्द्रसिंह ऐरीले १७ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
बलिङतर्फ वेष्ट इन्डिजका फाष्ट बलर ज्यासन होल्डरले ४ विकेट लिएका थिए ।