ललितपुर, १० असोज ।
नेपालीहरूको महान् चाड बडा दशैँ शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था लिमिटेडले ‘साझा यातायात दशैँ यात्रु शटल सेवा’ सञ्चालन गरेको छ । चाडपर्वको अवसरमा घर फर्किने तथा काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरूलाई लक्षित गरी यो सेवा शुरु गरिएको हो । संस्थाले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि असोज २० गते (कोजाग्रत पूर्णिमा) सम्म चितवनको नारायणगढका लागि बस सेवा शुरु गरेको जानकारी दिएको हो । यसले विशेषगरी नारायणगढ र त्यस आसपासका क्षेत्रमा जान चाहने यात्रुहरूका लागि निकै राहत पुग्ने अपेक्षा गरिएको छ ।
साझा यातायातले यात्रुहरूलाई सस्तो र भरपर्दो यात्रा गराउने उद्देश्यले यो पहल गरेको हो । यस अन्तर्गत, ललितपुरको पुल्चोकस्थित साझा यातायातबाट बस निस्कने र लगनखेल – सातदोबाटो – बालकुमारी – कोटेश्वर – गौशाला – चक्रपथ – सामाखुसी – गोंगबु – बालाजु – स्वयम्भू – सीतापाइला हुँदै कलंकीबाट बस प्रस्थान गर्ने छन् । उक्त बसहरू बिहान ७ बजेदेखि प्रत्येक एक घण्टाको फरकमा काठमाडौंको कलंकीदेखि प्रस्थान गर्ने छन् । यो सेवा बिहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजेसम्म सञ्चालन हुने छ ।
यात्रा गर्ने यात्रुहरूले एकतर्फी भाडाको रूपमा ३ सय रुपैयाँ बुझाउनु पर्ने छ र अनिवार्य रूपमा साझा यातायातको टिकट लिनु पर्ने व्यवस्था गरिएको छ । सञ्चालकहरूले सिटमा मात्र बस्न पाउने र उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाइने कुरामा जोड दिएका छन् । टिकट बिना यात्रा गर्ने यात्रुहरूलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने संस्थाले स्पष्ट पारेको छ । टिकटको विषयमा कुनै समस्या वा गुनासो भएमा सम्बन्धित निकायमा जानकारी गराउन सकिने साझा यातायातले जनाएको छ ।