पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकार विस्तारको तयारी भइरहेका बेला गृहमन्त्री पदका लागि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम प्रमुख रूपमा चर्चामा आएको छ ।
गृहमन्त्रीको जिम्मेवारीका लागि विभिन्न व्यक्तिहरूको नाम सार्वजनिक रूपमा चर्चा भइरहेका छन् । तर, स्रोतहरूका अनुसार सुशासन, कडाइ र पारदर्शिताप्रति स्पष्ट दृष्टिकोण राख्ने पात्रका रूपमा खरेललाई उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।
प्रहरी सेवामा रहँदा उनले भ्रष्टाचार, आपराधिक गतिविधि र अनियमितताविरुद्ध चालेका कडा कदमहरूका कारण सार्वजनिक रूपमा चर्चा बटुलेका थिए । सुरक्षा संयन्त्रमा लामो अनुभव, प्रशासनिक दक्षता र नीतिगत प्रतिबद्धता खरेलको विशेषता मानिन्छ ।
राजनीतिक वृत्तमा गृहमन्त्रालयका लागि अन्य केही नामहरू पनि छलफलमा रहेका छन् । तर हालको सन्दर्भमा खरेलको नाम सबैभन्दा अगाडि रहेको चर्चा तीव्र छ ।





