भरतपुर, २८ भदौ ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको शान्ति-सुरक्षा अवस्थाको विश्लेषणका आधारमा चितवन जिल्ला सुरक्षा समितिले जिल्लाभर लागू निषेधाज्ञा तथा कर्फ्यु हटाउने निर्णय गरेको छ । यो आदेश आज शनिबार बिहान ७ बजेदेखि लागू भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, जिल्ला सुरक्षा समितिको मिति २६ गतेको बैठकले यो निर्णय गरेको हो । यसअघि जारी भएको निषेधाज्ञा र कर्फ्यु आदेशलाई पूर्ण रूपमा हटाइएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जनाएको छ । यसले चितवन जिल्लाभरका बासिन्दालाई राहत पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा भनिएको छ, “आगामी दिनहरूमा समेत जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई आवश्यक सहयोग गरिदिनुहुन विभिन्न राजनीतिक दल, संघ-संस्था, निकाय र आम नागरिकहरूमा अनुरोध गर्दछौं ।”
केही दिनअघि जेनी समूहको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटना र सार्वजनिक सम्पत्तिको क्षतिका कारण जिल्ला सुरक्षा समितिले शान्ति कायम गर्न कर्फ्यु तथा निषेधाज्ञा जारी गरेको थियो । सुरक्षा अवस्थामा सुधार आएपछि यो हटाइएको हो । तर, भेला, जुलुस र प्रदर्शनमा भने अझै रोक कायम रहन सक्ने जनाइएको छ ।





