काठमाडौं, १० भदौ ।
ब्रह्माकुमारी संस्था र यसका सह–संस्थाहरूले पूर्व प्रशासिका दादी प्रकाशमणिजीको १६ औँ पूण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतका विभिन्न शहरहरूमा आयोजित विशेष रक्तदान अभियान सम्पन्न भएको छ ।
अभियानमार्फत भाद्र ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५, २०२५) ११ हजार ९१६ पिन्ट रक्त संकलन भएको संस्थाले जानकारी दिएको छ । यस अभियानमा नेपालका १५ भन्दा बढी शहरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
रक्तदान कार्यक्रमलाई राष्ट्रिय ट्रान्सफ्युजन सेवा केन्द्र, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय रक्त संकलन संस्थासँग सहकार्य गरी सम्पन्न गरिएको थियो । यसमार्फत संकलित रक्तले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा उपचाररत विरामीलाई जीवनदान दिने संस्थाका उपाध्यक्ष ब्रह्माकुमार रामसिंह ऐरीले बताए ।
काठमाडौं उपत्यकामा मात्रै ४४४६ पिन्ट रक्त संकलन गरिएको छ भने विराटनगरमा २८३०, नारायणगढमा ९७०, पोखरामा ५६४, नेपालगञ्जमा ५६२, बुटवलमा ५५३, वीरगञ्जमा ५४२ लगायत अन्य क्षेत्रमा पनि उल्लेख्य मात्रामा रक्त संकलन भएको विवरण सार्वजनिक गरिएको छ ।
संस्थाका अनुसार, यो अभियानले समाजमा ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई थप व्यापक बनाउन सहयोग पुर्याएको छ ।





