भरतपुर, ५ भदौ ।
हरितालिका तीजको अवसरमा लैङ्गिक हिंसा प्रभावित, असहाय महिला, किशोरी तथा बालबालिकाहरूलाई लक्षित गरी ‘दर खुवाउने कार्यक्रम’ सम्पन्न भएको छ ।
तीजलाई आत्मीयता र सामूहिकतासँग जोड्दै क्रियाशील महिला पत्रकार चितवनको आयोजनामा आदर्श गृह नेपालका आश्रित महिला, किशोरी र बालबालिकासँग दर खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका निवर्तमान अध्यक्ष प्रमिता ढकालले कार्यक्रमबारे प्रष्ट पार्दै तीज पर्व नजिकिँदै जाँदा आफैँ मात्र नभई आश्रित बालबालिकाको अनुहारमा पनि मुस्कान ल्याउने प्रयासस्वरुप कार्यक्रम गरिएको बताउनुभयो । डब्लुडब्लुजे चितवनकी अध्यक्ष सरिता पौडेलले आफ्ना प्रियजनको माया नपाएका मनहरूमा केही क्षण भए पनि आत्मीयता छर्न पाउँदा तीजको सार अनुभूति गरेको बताउनुभयो । कार्यक्रमको सफलतामा साथ दिने सबैप्रति उहाँले विशेष आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी भई संरक्षित महिला तथा बालबालिकाहरूसँग खुसी बाँडेको क्रियाशील पत्रकार महिला चितवनको पहलप्रति आदर्श गृह नेपालकी अध्यक्ष मीना खरेलले धन्यवाद ज्ञापन गर्नुभयो । “यो सहयोगले संरक्षित महिला तथा बालबालिकाहरूलाई आत्मबल, सामाजिक हौसला र सकारात्मक ऊर्जा प्रदान गरेको छ । भविष्यमा पनि निरन्तर साथ, सहयोग र समर्पणको अपेक्षा राख्दछौं ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा शुभकामाना मन्तव्य व्यक्त गर्दै चितवन बार एशोसियसनकी अध्यक्ष अधिवक्ता फूलमाया रानाभाटले महिला बालबालिकाको क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई राज्यको पीडित राहत कोषबारे पनि अनुगमन र सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “लाखौँ रकम राहतमा छुट्याइए पनि त्यसको पहुँच पीडितले पाउन सकेका छैनन्, त्यसैले आवाज उठाउनु जरुरी छ,” । भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले महिलाहरुका चुनौती, अवसर र सिर्जनात्मक भूमिकाबारे प्रकाश पार्दै महिलाको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुमध्ये पत्रकार महासंघ चितवनकी निवर्तमान उपाध्यक्ष शान्ता अधिकारीले आगामी दिनमा यस्ता कार्यक्रमसँगै आश्रित र समाजका वञ्चित वर्गका लागि ठोस रुपमा थप कलम चलाइरहन आफूहरु लागिपर्ने बताउनुभयो ।
कार्यक्रमकै दिन जन्मदिन परेका गृहकी आमा भीमकुमारी जिसीलाई पनि शुभकामना दिइएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार र शुभेच्छुक महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।





