भरतपुर, २३ साउन ।
भरतपुर अस्पताल, जो काठमाडौँको प्रसूति गृहपछि देशकै अग्रणी प्रसूति सेवा दिने संस्थाका रूपमा चिनिन्छ, अहिले ‘विश्व स्तनपान सप्ताह’ मनाउँदैछ । हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइने उक्त साप्ताहिक कार्यक्रममा यसपालिको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔँ : दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने तय गरिएको छ ।
अस्पतालले सुत्केरी आमालाई स्तनपानसम्बन्धी परामर्श दिने छुट्टै कक्ष सञ्चालनमा ल्याएको छ भने ‘मिल्क बैंक’ विस्तार गर्ने योजना पनि अघि सारेको छ।
सालभरि आठ हजार बढी गर्भवतीको सेवा भरतपुर अस्पतालमा अघिल्लो वर्ष ८ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएका थिए । ४,३८३ जना (५२.४५%) को सामान्य प्रसूति (नर्मल डेलिभरी),३,७६७ जना (४५.२८%) को शल्यक्रिया (सिजेरियन डेलिभरी),१८८ जना (२.२६%) को जटिल प्रसूति गरिएको थियो ।
हाल अन्य स्थानीय तहमा पनि प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको संख्या अघिल्लो वर्षको तुलनामा केही घटेको जनाइएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार, केही आमाहरू आधुनिक जीवनशैली वा भ्रमका कारण स्तनपान नगर्ने प्रवृत्ति देखिए पनि यो पूर्ण रूपमा गलत हो । उहाँले भन्नुभयो, “हामी यहाँ जन्मने बच्चाहरूले आमाकै दूध खाउन् भन्ने चाहन्छौँ ।”
स्तनपान परामर्श कक्ष तथा ल्याक्टेसन म्यानेजमेन्ट युनिटमा कार्यरत काउन्सिलर सकुन्तला ढकालका अनुसार, स्तन गाँसिएका आमा,बच्चाले राम्ररी दूध नचुसेका अवस्था मा सल्लाह र उपचार दिइन्छ । वहाँले बताउनुभयो, “विशेष मेसिन प्रयोग गरेर दूध निकालिन्छ र आवश्यकता अनुसार भण्डारण वा सिधै प्रयोग गरिन्छ ।”
धेरैजसो नयाँ आमाहरू स्तनपान गराउन अप्ठ्यारो मान्ने र हिच्किचाउने गरेको पाइए पनि परामर्शपछि उनीहरू सजिलै सहमत हुने बताइएको छ ।
अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलका अनुसार, स्तनपान नवजात शिशुको शारीरिक र मानसिक विकासका लागि अत्यावश्यक हुन्छ । उहाँले भने, “आमाको दूधमा पाइने सम्पूर्ण पोषकतत्वले कुपोषण हटाउँछ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।”





