भरतपुर, १० साउन ।
नारायणगढ निवासी सामाजिक व्यक्तित्व मेनका चापागाईंले आफ्नो जन्मदिनका अवसरमा विद्यार्थीलाई पत्रपत्रिका उपलब्ध गराउनुभएको छ । श्री विश्वप्रकाश माध्यमिक विद्यालय मङ्गलपुरमा अध्ययनरत कक्षा ८ देखि १२ का सबै विद्यार्थीलाई मुना, युवामञ्च र मधुपर्क उपलब्ध गराउनुभएको हो ।

साउन १० गते शनिबार उहाँको जन्मदिन हो । सोही अवसरमा उहाँले अघिल्लो दिन शुक्रबार नै विद्यालयमा पुगेर पत्रपत्रिका उपलब्ध गराउनुभएको हो । विद्यालयका प्रधानाध्यापक जयकृष्ण रिजालले चापागाईंलाई माला लगाइदिएर विद्यालयमा सम्मान गर्नुभएको थियो ।
चापागाईंले विद्यार्थीलाई पत्रपत्रिका उपलब्ध गराउँदै पाठ्यक्रम सँगसँगै अतिरिक्त किताब पढ्ने बानी बसाल्न आग्रह गर्नुभयो । पठन संस्कृतिलाई अभियानका रूपमा लैजान सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी विद्यार्थी कै भएको चापागाईंले बताउनु भयो ।

विद्यालयका शिक्षक विपिन पाठकले अब विद्यार्थीहरुको बर्खे बिदा पनि सुरु भएकोले विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक काममा अग्रसर हुन आग्रह गर्नुभयो । `बिदामा गृहकार्य गर्ने, अतिरिक्त किताब पढ्ने, राम्रा चलचित्र हेर्ने, घरायसी काममा आमाबुबालाई सघाउने, परिवारसँग नजिकैको महत्त्वपूर्ण क्षेत्रको भ्रमण गर्ने काममा बाबुनानीले ध्यान दिनुहोला´, पाठकले भन्नुभयो ।





