भरतपुर, १० साउन ।
भरतपुर महानगरपालिका–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले भरतपुर–५ निवासी गजलकार रामकृष्ण अनायासको गजलसंग्रह `अनायास´को आफ्नै वडामा विमोचन गर्नुभएको छ ।
वडाको कार्यालय परिसरमा आयोजित अनायास लोकार्पण कार्यक्रममा गजल कृतिको गृह लोकार्पण गर्दै अध्यक्ष श्रेष्ठले साहित्य समाज परिवर्तनको बलियो माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरूले कला, साहित्य र सिर्जनशील गतिविधिहरूलाई प्राथमिकतामा राख्दै साथ र समर्थन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा वडा नम्बर ५ का जनप्रतिनिधिहरू विशालबाबु तिमल्सिना र शारदा परियारको पनि विशेष उपस्थिति रहेको थियो । उनीहरूले गजल साहित्यले मानवीय अनुभूतिहरूलाई सुक्ष्मरूपमा व्यक्त गर्ने माध्यम भएको बताउँदै लेखक अनायासको निरन्तर साहित्यिक योगदानको प्रशंसा गर्नुभएको थियो ।
गजलकार रामकृष्ण अनायासले विगत दुई दशकदेखि नेपाली गजलमा कलम चलाउँदै आउनुभएको छ । अनायास उहाँको तेस्रो गजलसंग्रह हो, जसमा प्रेम, वियोग, समसामयिक चेतना र समाजको चित्रण झल्किने सशक्त गजलहरू समावेश छन् ।





