काठमाडौं, १० साउन ।
सुडानमा जारी द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा बढी नागरिकहरू हालसम्म पुनः आफ्ना घर फर्किएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गत आप्रवासन, शरणार्थी तथा विकाससम्बन्धी निकायहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै हालसम्म १० लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित व्यक्ति सुडानभित्रै आफ्ना घर फर्किएको र थप करिब तीन लाख २० हजार व्यक्ति छिमेकी मुलुक इजिप्ट र दक्षिण सुडानबाट स्वदेश फर्किएको जानकारी दिएका छन् ।
हाल केही स्थानहरूमा द्वन्द्वको प्रभाव कम भए पनि समग्र अवस्था अझै पनि अति संवेदनशील रहेको राष्ट्रसंघले उल्लेख गरेको छ ।
सन् २०२३ सालको अप्रिलदेखि सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल बुर्हान र प्रतिद्वन्द्वी अर्धसैनिक समूहका कमाण्डर मोहम्मद हम्दान डाग्लोबीचको सत्ताका लागि संघर्षले देशलाई गम्भीर मानवीय संकटमा पारेको छ । यस हिंसात्मक द्वन्द्वका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।





