चितवन, १० साउन ।
मकवानपुरका स्रस्टा डीबी बर्तौलाको मुक्तकसङ्ग्रह `उज्यालोका बाछिटा´को विमर्श गरिएको छ । सम्पूर्ण किताब नारायणगढले शुक्रबार आयोजना गरेको कार्यक्रममा बर्तौलाको मुक्तकसङ्ग्रहका बारेमा समालोचक उदय अधिकारीले समीक्षात्मक टिप्पणी राख्नुभयो ।
कार्यक्रममा रमेश प्रभातले स्वागत मन्तव्य राख्दै बर्तौलाले मुक्तकलेखनमा आफूलाई निरन्तर समाहित गरेर सफलता प्राप्त गरेको बताउनु भयो । समालोचक अधिकारीले बर्तौलाका मुक्तकहरु चोटिला, व्यङ्ग्यात्मक र सरल भएका बताउनुभयो ।
कार्यक्रममा बर्तौलाले २० भन्दा धेरै मुक्तकहरु सुनाउनुभएको थियो । कार्यक्रममा सहभागी हुन बर्तौलासँगै
साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष उपाध्यक्ष सानू खनाल, मुक्तक मञ्च मकवानपुर सचिव सुवास सजल, गजल मञ्च मकवानपुर सचिव कमल नेपाल, मुक्तक मञ्च मकवानपुर कोषाध्यक्ष मिथिला अधिकारी, नवसर्जक साहित्य चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहाल, मुक्तक मञ्च मकवानपुरकी सहसचिव स्वस्तिका बानियाँ, मुक्तक मञ्च मकवानपुर पूर्वसचिव गोकर्ण लामाक्स, नवसर्जक साहित्य चौतारीकी केन्द्रीय सदस्य विविशा रुम्बा, अग्रज स्रस्टा मुना अर्याललगायत आउनुभएको थियो ।
मुक्तकवाचनका क्रममा स्रस्टा बर्तैलाले चितवन र मकवानपुरको एकता र मित्रता दिगोरूपमा आएको बताउनु भयो । चितवनको साहित्यिक संस्कार लोभलाग्दो भएको बताउँदै बर्तौलाले भन्नुभयो – `चितवनबाट सिक्नु पर्ने धेरै कुरा छन् । यहाँको सम्पूर्ण किताब व्यवसायिक मात्र नभई भाषासाहित्यका लागि महत्वपूर्ण कार्य गर्दै आएको छ ।चितवनबाट अग्रज, समकालीन र अनुजलाई मिलाउने संस्कार अनुकरणीय छ ।´





