चितवन, १० असार ।
रत्ननगरस्थित भद्रकाली माध्यमिक विद्यालयमा नेपाली सेनाले सञ्चालन गर्ने राष्ट्रिय सेवादल (एनसिसी) तालिम सुरु भएको छ ।
रत्ननगरक नगरपालिका वडा नम्बर – १६ हात्तीगाडेमा रहेको उक्त विद्यालयमा सोमबारबाट सुरु भएको तालिमको नयाँ सबुज गण भरतपुरका सेनानी जीतबहादुर थापा र वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष थापाले अनुशासित विद्यार्थीले देशको भविष्य सुन्दर बनाउन सक्ने भन्दै अनुशासनलाई प्राथमिकतामा राखेर तालिम पुरा गर्न सहभागीहरुलाई आग्रह गरे ।
सेनानी जीतबहादुर थापाले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।
यसैगरी उपसेनानी विशाल जिसिले तालिमको महत्व र उद्देश्य बारे प्रकाश पारेका थिए। युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए ।
एक सय दिन सञ्चालन हुने तालिम ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुनेछ भने त्यसपछिको २१ दिन राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालय नवलपरासी हात्तीखोरमा सञ्चालन हुनेछ । तालिममा ३० जना विद्यार्थी सहभागी छन् ।