भरतपुर, २३ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा बेटर चितवन र ग्रीनल्याण्ड पब्लिक स्कुलको संयुक्त आयोजनामा अन्तर विद्यालय जङ्क आर्ट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सनराईज इङ्ग्लिस स्कुल प्रथम भएको छ ।
सनराईजका काव्या आचार्य, कृषा गुरुङ र आरोन शर्मा कँडेलको टोलीले प्रथम स्थान हासिल गरेको हो । यस्तै सिद्धीविनायक स्कुल कालिका–६ खोलेसिमलका रिदम अधिकारी, बबिन सापकोटा र अस्मिता अधिकारीको समूह दोस्रो हुँदा स्टेप बाई स्टेप स्कुलकी रिंकुकुमारी पण्डित र काव्या ढकाल तेस्रो भएका छन् ।
१७ विद्यालयका ५० विद्यार्थी सहभागी उक्त प्रतियोगितामा इन्जिनियर सागर कार्की, प्रशिक्षक निशा तामाङ र वातावरण अभियान्ता भोजनारायण कँडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । वातावरणीय चेतना अभिवृद्धि, प्लास्टिकको उचित व्यवस्थापन, सिर्जनात्मक अभ्यासको विकास र फोहोरबाट मोहोर अवधारणाको प्रवर्द्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिनुभयो ।
दिवसकै अवसरमा स्कुलले वातावरणप्रति सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले साइकल र्याली समेत गरेको छ । स्कुल परिसरदेखि राइनो लेकसम्मको साइकल र्याली आयोजना गरिएको हो । र्यालीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा वातावरण प्रेमीहरु सहभागी थिए ।
साइकल र्याली दिगो अभ्यासको प्रतिकको रुपमा प्रस्तुत गरिएको थियो । यसले इन्धनमुक्त यातायातको प्रवर्द्धन गर्नुका साथै व्यक्तिगत तथा सामुदायिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने स्कुलकी प्राचार्य कार्कीको विश्वास छ । यस्तै ताल क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण पनि गरिएको थियो । प्रकृति संरक्षणकर्ता तथा ग्रीनल्याण्ड पब्लिक स्कुलका ईको क्लब इन्चार्ज मनोज खड्कामा भएको उक्त कार्यक्रममा रामवेल सामुदायिक वनका अध्यक्ष माधवप्रसाद धिताल, स्कुलका सिओओ विराज कार्कीलगायतको पनि सहभागिता रहेको थियो ।