मकवानपुर, १८ जेठ ।
मकवानपुरमा क्रियाशील रहेकाे महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले ‘बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रम’ गरेको छ । हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा आँचलले ४ वटा सम्मान प्रदान गरेको छ । विविध विषयमा संवाद र बहस समेत भएकाे कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका बालबालिकाहरु बीच कविता प्रतियाेगिता समेत गरेकाे छ ।
आँचलले सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८१ बाट कवि पुरुषोत्तम आचार्यलाई सम्मान गरेकाे छ । उक्त सम्मानकाे राशि नगद १० हजार १ रुपैयाँ रहेकाे छ । यस्तै मङ्गलादेवी श्रेष्ठ बालप्रतिभा पुरस्कार सम्मान २०८१ बाल प्रतिभा अनसुया खनाललाई नगद ३ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरेको छ । मुक्ति–तारा नवप्रतिभा सम्मान २०८१ बाट नवप्रतिभा स्वस्तिका दाहाललाई नगद ५ हजार १ रुपैयाँसहित सम्मान गरेको छ । आँचल सम्मान २०८१ बाट अक्षयकोष संस्थापक प्रकाश लम्साललाई सम्मान गरेको छ ।
कार्यक्रममा ‘बालबालिका अभिभावक र आजको समाज’ विषयक मनोपरामर्श कार्यक्रम भएको छ । सो कार्यक्रममा प्राध्यापक तथा मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले परामर्शदाताको रूपमा सहजीकरण गरेका थिए । यस्तै हेटौंडा उपमहानगरपालिकाको महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरका श्यामकृष्ण श्रेष्ठ ‘डिजिटल स्क्रिनको प्रभाव’ विषयक बहसमा सहभागी रहेका थिए । उक्त बहसकाे आशिष दूलालले सहजीकरण गरेका थिए ।
यस्तै कार्यक्रममा कक्षा ८–१२ तहस्तरीय कविता प्रतियोगिताअन्तर्गत छानिएका उत्कृष्ट १० मध्ये ९ जनाले रचना प्रस्तुत गरेका थिए । रचनाको प्रस्तुत समेतकाे आधारमा ब्रह्मदिक् एकेडेमीकी कृष्मा लौडारी प्रथम, जीएस निकेतमकी आकांक्षा निरौला द्वितीय, सिद्धार्थ माविकी स्वरुपा गुरागाई तृतीय भएका छन् भने जीएस निकेतनका अनमोल पोखरेल सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
यसैगरी आजका नेपाली कविता विषयमा साहित्यकार निमेष निखिलको ‘कि नोट स्पिच’ प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकारहरुले आफ्ना रचना समेत वाचन गरेका थिए । २०६९ सालमा स्थापना भएको आँचल साहित्य कला पुञ्जले विविध साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्य तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।




