मकवानपुर, १३ जेठ ।
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रदेशका मन्त्रालयहरुले पेश गरेका योजना तथा कार्यक्रम विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी मन्त्रिपरिषदबाट स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए ।
मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटमा समेट्ने गरी प्रभावकारी ढंगबाट कार्यक्रम तयार गरेको उनले बताए ।
बैठकले ‘नीजि वनको साल प्रजातिको रुख कटान तथा ओसारप्रसार अनुगमन सम्बन्धि कार्यविधि, २०८२’ पनि स्वीकृत गरेको छ। उक्त कार्यविधिमा प्रदेश सरकारले अनुगमन गर्न सक्ने अधिकार सुनिश्चित गरिएको मन्त्री लामिछानेले बताए । त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित ‘बागमती प्रदेश स्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२’ पनि बैठकले स्वीकृत गरेको छ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट पेस भएको प्रस्तावअनुसार समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा थप दुई सदस्य नियुक्त गर्ने निर्णय गरिएको छ। पाँच सदस्यीय समितिमा बाँकी रहेका दुई पदमा नियुक्तिका लागि निर्णय गरिएको हो। समितिमा धादिङ थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई राजनीतिक सहमतिका आधारमा समितिमा नियुक्त गर्ने निर्णय गरिएकाे प्रवक्ता लामिछानेले जानकारी दिए ।




