विपिन पाठक
भरतपुर, १३ जेठ ।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको माडीको सोमेश्वर गढी अब गजलका सुरले गुञ्जिने भएको छ । गजल मञ्च चितवन नेपाल र माडी नगरपालिकाको संयुक्त आयोजनामा `गढीमा गजल´ नामक भव्य साहित्यिक तथा सांस्कृतिक कार्यक्रम जेठ १७ गते सोमबार बिहान ७ बजे सोमेश्वर गढी परिसरमा आयोजना हुँदैछ ।
कार्यक्रम माडी क्षेत्रको कला, संस्कृति, भाषा, साहित्य र पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । स्थानीय, राष्ट्रिय र सीमावर्ती क्षेत्रका गजलकार, कवि, साहित्यकार, संस्कृतिकर्मी तथा पर्यटन अभियन्ताहरूको सहभागिता रहने यस कार्यक्रमलाई माडीको मौलिक सांस्कृतिक पहिचानलाई उजागर गर्ने प्रयासका रूपमा हेरिएको छ ।
गजल मञ्च चितवन नेपालका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै भने, `माडी केवल कृषि, वन र सीमावर्ती क्षेत्रको परिचयमा मात्रै सीमित छैन । यो ठाउँ कलासंस्कृति र साहित्यिक चेतनाले पनि सम्पन्न छ । गजलको माध्ययमबाट हामी माडीको आत्मा अभिव्यक्त गर्न खोज्दैछौँ ।´
कार्यक्रम संयोजक प्रविण सन्नाटाले गढीमा गजललाई सिर्जनात्मक चेतना, सांस्कृतिक गौरव र पर्यटकीय सम्भावनाबीचको सेतुका रूपमा प्रस्तुत गरेका छन् । उनले भने – `सोमेश्वर गढी केवल आस्था र इतिहासको धरोहर होइन, यो माडीको आत्मा हो । गजलको शब्द र स्वरमार्फत यस गढीलाई साहित्यिक प्रेरणाको केन्द्र बनाउने हाम्रो प्रयास हो ।´
कार्यक्रमको उद्घाटन माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले गर्नेछिन् । उनले भनिन् – `हामीले साहित्यलाई अब विकासको साझेदारका रूपमा हेर्न थालेका छौँ । ‘गढीमा गजल’ जस्ता सिर्जनात्मक प्रयासहरूले माडीको ऐतिहासिक सम्पदा र पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउनेछन् ।”
कार्यक्रममा गजल वाचन, सांगीतिक गजल प्रस्तुति, स्थानीय झाँकी, पर्यटन प्रवर्द्धनमूलक मूर्तिकला, चित्रकला प्रदर्शन तथा गजल वाचनका सत्रहरू कार्यक्रमका प्रमुख आकर्षण हुने आयोजकले जनाएका छन् । साथै सोमेश्वर गढी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि दीर्घकालीन योजनाको खाका प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ ।
गजलको माध्यमबाट माडीको साहित्यिक र पर्यटनिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित आयोजना गरिएको यस कार्यक्रमलाई वार्षिक अभियानका रूपमा विकास गर्ने योजना समेत मञ्चले अघि सारेको छ ।





