मकवानपुर, १३ जेठ ।
मकवानपुरकाे थाहा नगरपालिकामा बसले पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाकाे मृत्यु भएकाे छ । थाहानगरपालिका – ३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा बसकाे ब्रेक फेल भई पैदलयात्रीलाई ठक्कर दिइ दुर्घटना भएकाे थियाे । सोमबार साँझ भएको दुर्घटनामा ४ जना घाइते भएका छन् ।
थाहानगरकाे गोपाली गाउँबाट थानाबजार पालुङतर्फ आउँदै गरेकाे बा ३ ख ५९९० नम्बरको बसले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर पैदलयात्रीहरू थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षीय कृष्ण बलामी र सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय लोकेन्द्र कुमार ठाकुरको उपचारको क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठाकुर झम्केश्वरी माविमा शिक्षकको रूपमा कार्यरत थिए ।
त्यस्तै झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादव (अन्दाजी ३५ वर्ष) र शिखरकोट मालपोत कार्यालयमा कार्यरत कमलेश कुमार साह दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का छेयाङ दोर्जे लामा (३२ वर्ष) र बारा कोल्बी नगरपालिका वडा नम्बर १ का रामगुलाम चौधरी (३० वर्ष) सामान्य घाइते भएका छन् । उनीहरूको उपचार पालुङको प्राथमिक स्वास्थ्य केन्द्रमै भइरहेको छ । बस दुर्घटनापछि चालक थाहा नगरपालिका–५ निवासी २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




