विप्लव काफ्ले
स्पेन, १३ जेठ ।
नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले सल्लाहकार चयन गरेको छ । आल्तेयामा बसेको कार्यसमिति बैठकले सल्लाहकार समिति सर्वसम्मत चयन गरेको हो ।
महासचिव विजय कुँवरका अनुसार वरिष्ठ सल्लाहकारहरुमा रुद्र खत्री, द्वारिका लामिछाने, सन्तोष अर्याल, ईश्वर गौतम, दुर्गा भण्डारी, राजु पाण्डे, सृजना लामिछाने चयन भएका छन् । यस्तै रुद्र आचार्य, अञ्जु पुन, डा. बृहस्पति पण्डित, जगबहादुर पुन, महदत्त कँडेल, किरण पौडेल, अजगरलाई सल्लाहकार चयन गरिएको छ । यसअघि संस्थाले संरक्षकहरु चयन गरेको थियो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका संस्थाका पूर्वअध्यक्ष अक्कल बहादुर बोहरालाई स्पेन फर्के लगतै विशेष सम्मान गर्ने तयारी समेत गरेको छ ।
एनआरएनए कोष्टाव्लाङ्का र समाजले संयुक्त रुपमा सम्मान गर्ने तयारी गरेका छन् । संस्थाका अध्यक्ष केसरबहादुर थापाले कोष्टाव्लाङ्का क्षेत्रलाई लक्षित गरि नेपाली राजदूतावाससँग पहल गरेर राहदानी घुम्ती शिविर सञ्चालन गरिने जानकारी दिए । ´यहाँ राहदानी नविकरण तथा नयाँ बनाउन चाहनेहरुको संख्या उल्लेख छ, शिविरको माग अधिक छ`, उनले भने, ´ दूतावासलाई अनुरोध गरेका छौँ, केही महिनामै घुम्ती शिविर आउने अपेक्षा छ ।` हाल कोष्टाव्लाङ्काबाट ४-५ घण्टा यात्रा गरेर म्याड्रिड पुगेर राहदानी बनाउनुपर्ने अवस्था छ ।
थापाले एनआरएनए कोष्टाव्लाङ्का र समाजले संयुक्त रुपमा घुम्ती शिविरको माग गरेको बताए । थापाले आगामी बैठकले गुम्बा-मन्दिर निर्माण अभियानलाई गति दिन आवश्यक निर्णय गर्ने बताए । कोष्टाव्लाङ्का क्षेत्रमा बन्ने गुम्बा-मन्दिरले नेपाली धर्म-संस्कृति जगेर्ना तथा प्रवर्द्धनमा योगदान पुग्ने बताए ।





