मकवानपुर, ९ जेठ ।
मातृभूमि साहित्य समाज मकवानपुरले एकै मञ्चमा ७ जना व्यक्तित्वलाई सम्मान गर्ने भएकाे छ । मातृभूमिले जेठ १५ र १६ गते हेटौंडामा मातृभूमि साहित्य महाेत्सव- २०८२ आयोजना गर्ने भएकाे छ । सोही कार्यक्रममा ७ जना व्यक्तिलाई सम्मान गरिने भएकाे हाे ।
मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान- २०८२ बाट पत्रकार प्रताप विष्ट सम्मानित हुने भएका छन् । दीर्घ सेवा सम्मानकाे संस्थापक मातृभूमि साहित्य समाज रहेको छ । यसैगरी मायादेवी मातृभूमि पुरस्कार- २०८० बाट साहित्यकार गीता रेग्मी सम्मानित हुने भएकी छन् । काठमाडौं निवासी साहित्यकार रेग्मीलाई रुकु कार्कीले स्थापना गरेकाे २१ हजार रुपैयाँ राशिकाे उक्त पुरस्कार प्रदान गरिने समाजका सचिव किशन पौडेलले जानकारी दिए ।
यसैगरी राजकुमार स्मृति मातृभूमि सम्मान- २०८० बाट कवि चन्द्र गुरुङ सम्मानित हुने छन् । सुनसरी धरानका कवि गुरुङलाई इन्द्रबहादुर बानियाँले दाइकाे स्मृतिमा स्थापना गरेकाे १५ हजार रुपैयाँ राशिकाे उक्त सम्मान प्रदान गरिने पौडेलले बताए । क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान- २०८० बाट माधव काफ्ले सम्मानित हुने छन् । रौतहटका साहित्यकार काफ्लेलाई १५ हजार रुपैयाँ राशिकाे उक्त सम्मान प्रदान गरिने भएकाे हाे । बानियाँले नै हजुरबुबाकाे नाममा उक्त सम्मान स्थापन गरेकाे उनले बताए ।
यस्तै होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान- २०८१ बाट सुदेश सत्याल सम्मानित हुने भएका छन् । मातृभूमिका संरक्षक हयग्रीव आचार्यले स्थापना गरेकाे १५ हजार रुपैयाँ राशिकाे छन्द साहित्य सम्मान छन्द कवि सत्याललाई प्रादन गरिने छ । मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान- २०८१
रजनी ज्ञवालीलाई प्रदान गरिने भएकाे छ । नर्सिङ सेवाका ज्ञवालीलाई वनमाली सुवेदी तथा कृष्णप्रसाद दाहालले स्थापना गरेकाे १५ हजार रुपैयाँ राशिकाे उक्त सम्मानबाट सम्मानित गरिने भएकाे हाे ।
झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन सङ्घर्ष प्रोत्साहन वृत्ति- २०८० हेटौंडा – १८ हर्नामाडी कमला आधारभूत विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने सचिव पौडेलले जानकारी दिए । मातृभूमिका पूर्व अध्यक्ष राजबाबु पहाडी बुबाकाे स्मृतिमा स्थापना गरेकाे उक्त प्रोत्साहन वृत्ति ७ हजार ५०० रुपैयाँकाे रहेकाे छ ।
नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा विधिवत् रूपमा मातृभूमि साहित्य समाजको स्थापना भएको हो । समाजले विविध साहित्यिक कार्यक्रमहरूलाई निरन्तरता दिंदै स्थापित एवम् नव प्रतिभाहरू सम्मान गर्दै आएकाे समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । समाजले विभिन्न विधामा सत्र वटा पुरस्कार एवम् सम्मान प्रदान गर्दै आएकाे बताइएकाे छ ।





