मकवानपुर, ५ जेठ ।
साहित्य सङ्गग मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मान गर्ने भएकाे छ । ३५५ औं नियमित साहित्य सन्ध्यासँगै सङ्गम साहित्य उत्सव २०८२ आयोजना गर्दै सङ्गमले ८ जनालाई शनिबार विभिन्न सम्मानबाट सम्मानित गर्ने भएकाे हाे ।
मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मानित हुने भएका छन् । तत्कालिन जिल्ला विकास समिति मकवानपुर संस्थापक रहेकाे उक्त सम्मानकाे राशि १५ हजार ५५५ रुपैयाँ रहेकाे छ । यसैगरी भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित हुने भएकी छन् । विशाल अधिकारी आशुताेषले स्थापना गरेकाे उक्त सम्मानकाे राशि १५ हजार ५५५ रुपैयाँ रहेकाे छ ।
यस्तै समिर पाख्रिन दीपक मुडभरी स्मृति सम्मान २०८१ बाट सम्मानित हुने भएका छन् । १० हजार रुपैयाँ राशिकाे उक्त सम्मान मुडभरी परिवारले स्थापना गरेका हुन् । विनोद – सुनिता सुवेदी सम्मान २०८१ मकवानपुरे पत्रकार रामकुमार एलनलाई प्रदान गरिने भएकाे छ । ११ हजार १११ रुपैयाँ राशि रहेकाे उक्त सम्मान प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले स्थापना गरेका हुन् । १० हजार रुपैयाँ राशिकाे मंगलादेवी स्मृति सम्मान २०८१ बाट बवी थापा सम्मानित हुने भएकी छिन् । उक्त सम्मान शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेका हुन् ।
यसैगरी मुक्तितारा सम्मान २०८१ बाट यश लामा सम्मानित हुने भएका छन् । मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त सम्मानकाे राशि १० हजार रुपैयाँ रहेकाे छ । यस्तै १० हजार रुपैयाँकाे रामहरि देवु सम्मान २०८१ बाट मसान उपासक सम्मानित हुने भएका छन् । ऋषि केबी र पूण्यशीला श्रेष्ठले उक्त सम्मान स्थापना गरेका हुन् । यसैगरी साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/०८१ बाट अभय श्रेष्ठ सम्मानित हुने भएका छन् । डा. केशव श्रेष्ठ ज्योतिले स्थापना गरेकाे उक्त सम्मान २५ हजार १ रुपैयाँ रहेकाे छ ।
१० जेठ शनिबार हुने कार्यक्रममा सम्मानित स्रष्टाहरुकाे रचना वाचन समेत हुनेछ । कार्यक्रममा २ वटा प्यालन डिस्कसन हुने संगम सचिव मनोज पोखरेलले जानकारी दिए । उनका अनुसार `सपना र सम्भावना : सिर्जनामा नयाँ पुस्ता´ र `कविता : युगकाे प्रतिविम्बन´मा प्यानल डिस्कसन हुनेछ । कार्यक्रममा अतिथि साहित्यकारहरुकाे रचना वाचन तथा सङ्गमका कार्यसमितिका पदाधिकारीहरुकाे रचना वाचन समेत हुनेछ ।





