भरतपुर, ५ जेठ ।
प्लास्टिक व्यवसायी सङ्घ चितवनको सोमबार सम्पन्न २२ औँ साधारणसभा तथा ९ औँ अधिवेशनबाट अध्यक्ष पदमा तेजेन्द्र सापकोटा चयन हुनुभएको छ ।
भरतपुरस्थित रोज गार्डेन पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसअन्तर्गत उपाध्यक्षमा मोतीलाल बास्तोला र रामकृष्ण दवाडी, सचिवमा नारायणप्रसाद पौडेल, सहसचिवमा विश्वास भट्टराई र कोषाध्यक्षमा गणेश न्यौपाने रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा विनोद चौधरी, सोमनाथ अर्याल, चन्द्रप्रसाद पौडेल, नवीन अधिकारी र रिना श्रेष्ठ चयन हुनुभएको निर्वाचन समिति संयोजक इमान्दु बरालले बताउनु भयो ।
प्लास्टिक व्यवसायी सङ्घ चितवनको स्थापना २०५९ सालमा भएको हो । चितवनमा रहेर प्लास्टिकका सामग्री उत्पादन र बिक्रीवितरण गरिरहेका व्यवसायी यो सङ्घमा आवद्ध छन् । सङ्घले सञ्चालन गरिरहेको `सुइरो कार्यक्रम´ चितवनमा प्रभावकारी कार्यक्रम मानिन्छ । प्लास्टिकजन्य फोहोर तथा पुराना वस्तुको सङ्कलन गरी यसलाई पुनः प्रशोधन गरेर प्रयोगमा ल्याइनु सुइरो कार्यक्रमको उद्देश्य रहेको छ ।
नवनिर्वाचित सापकोटा यस सङ्घमा सदस्य, सहसचिव, उपाध्यक्ष हुँदै अध्यक्ष पदमा सर्वसम्मत हुनुभएको हो । नारायणगढस्थित सापकोटा प्लास्टिक उद्योग र न्यू मनकामना ट्रेडिङका सञ्चालक सापकोटाले आफ्नो कार्यकालमा वातावरण मैत्री कार्यक्रममार्फत चितवनको प्लास्टिक व्यवसायलाई निरन्तरता दिइने बताउनु भयो ।





