भरतपुर, ५ जेठ ।
कालिका संस्कृत विद्यापीठ र भरतपुर सामुदायिक अस्पतालबीच नयाँ समन्वय र सहकार्य स्थापना भएको छ । विद्यापीठका तर्फबाट प्राचार्य डा. केशवराज चालिसे, विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटा, अस्पतालका व्यवस्थापन निर्देशक दीपेन्द्र बास्तोला र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रअनुसार विद्यापीठका सम्पूर्ण प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा सञ्चालक समितिका पदाधिकारी र उनीहरुको परिवारका लागि अस्पतालले औषधि उपचार, अपरेसन र प्रयोगशाला शुल्कमा २० प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यो निर्णय विद्यापीठको इतिहासमा नयाँ पाइला मानिन्छ र यसले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि विशेष रूपमा सहजता र आर्थिक मद्दत पुर्याउनेछ । विद्यापीठमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरू टाढाटाढा क्षेत्रबाट आएका हुनाले स्वास्थ्य सेवामा पहुँच पाउन कठिनाइ हुने गरेको थियो ।
यस समझदारीबाट प्राध्यापक, विद्यार्थी, कर्मचारी, विद्यापीठ सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी र उनीहरुका परिवारका लागि उपचार खर्चमा राहत मिल्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षा सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । अस्पतालका लागि यसले बिरामी सेवा प्रयोगकर्ताको संख्या वृद्धि गर्ने र समुदायमा सकारात्मक छवि बनाउन मद्दत पुर्याउने अपेक्षा छ । साथै विद्यापीठ र अस्पतालबीचको सहकार्यले स्थानीय समुदायमा स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ ।
प्राचार्य डा. चालिसेले भने, “यो कदमले हाम्रो विद्यापीठ परिवारको र “विद्यार्थीहरूको प्राथमिकता सधैं अध्ययन हुन्छ, तर अस्वस्थ शरीरले अध्ययनलाई निरुत्साहित गर्छ । हामीले शैक्षिक जीवनसँगै स्वास्थ्य सुरक्षालाई पनि समकक्षी महत्व दिएका छौँ ।
भरतपुर सामुदायिक अस्पतालका व्यवस्थापक निर्देशक दीपेन्द्र वास्तोलाले पनि यस सहकार्यले अस्पताललाई सेवाग्राहीहरूको विश्वास र समर्थन बढाउने उल्लेख गरे ।