मकवानपुर, ५ जेठ ।
बागमती प्रदेशकाे वर्ष खेलाडी राजन बल र एरिका गुरुङ घोषित भएका छन् । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आइतबार साँझ हेटौंडामा खोखोका बललाई सर्वोत्कृष्ट पुरुष र करातेकी गुरुङलाई सर्वोत्कृष्ट महिला वर्ष खेलाडी घोषित गर्दै सम्मान गरेकाे छ ।

मन्त्रालयले विभिन्न ८ विधाका १२ जनालाई बागमती प्रदेश स्पोर्ट्स अवार्ड प्रदान गरेको हो । एथ्लेटिक्सका जीतबहादुर केसी र बैकुण्ठ मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । पारा तेक्वान्दोका कविराज नेगी उत्कृष्ट प्रशिक्षक र पत्रकार श्याम चित्रकार उत्कृष्ट पत्रकारबाट सम्मानित भएका छन् ।
फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ र एथ्लेटिक्सका सन्तोषी श्रेष्ठ लोकप्रिय खेलाडीबाट सम्मानित भए । तेक्वान्दोकी संगीता वैद्य बागमतीको शान, पारा तेक्वान्दोकी पलेसा गोवर्द्धन उत्कृष्ट पारा तेक्वान्दो खेलाडी, गल्फका सद्भाव आचार्य युवा खेलाडी र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्षबाट सम्मानित भए ।
लाइफ टाइम एचिभमेन्ट, उत्कृष्ट महिला र पुरुष, बागमतीको सान र उत्कृष्ट प्रशिक्षकलाई जनही समान एक लाख र अरु विधाका खेलाडी र पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित अवार्ड र सम्मानपत्र प्रदान गरिएको थियो । खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले पहिलो पटक अवार्डको आयोजना गरेको हाे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तथा मन्त्रीहरुले सम्मानितहरुलाई अवार्ड, नगद र सम्मानपत्र प्रदान गरेका थिए । मुख्यमन्त्री लामाले प्रदेश स्पोर्ट्स अवार्डलाई खेलाडी र खेल क्षेत्रमा लाग्न चाहनेलाई थप हौसला मिल्ने दाबी गरे ।





