भरतपुर अस्पतालमा क्याथ ल्याबसहितका सेवाहरु थप

भरतपुर, २२ वैशाख ।

भरतपुर अस्पतालमा सोमबारदेखि क्याथ ल्याब, जलन उपचार, फर्टिलिटी क्लिनिकसहित आधा दर्जन नयाँ सेवाहरु सुरु भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नयाँ सेवाहरुको शुभारम्भ गरेका हुन् ।

हृदयघात र मस्तिष्कघात भएका बिरामीको उपचारका लागि क्याथ ल्याब आवश्यक हुन्छ । आगोले पोलिएका बिरामीहरुको उपचारका लागि दुई बेडको आइसियू र पाँच बेडको जनरल वार्डसहितको बर्न वार्ड थपिएको हो । नि:सन्तान दम्पत्तिहरुका लागि सन्तान प्राप्तिको उपचार सेवा फर्टिलिटी क्लिनिकबाट प्रदान गरिने अस्पतालले जनाएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले सोमबार शुभारम्भ गरेका अन्य सेवाहरुमा चाइल्ड प्ले थेरापी, सिमुलेसन ल्याब र ल्याक्टेसन म्यानेजमेन्ट युनिट रहेका छन् । सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले सुदूरपश्चिम प्रदेशबाहेक बाँकी ६ वटा प्रदेशमा क्याथ ल्याब सेवा सुरु भएको जानकारी दिए । सरकारले सातमध्ये पाँच प्रदेशमा क्यान्सर उपचार सेवा सुरु गरेको र निकट भविष्यमा नै बाँकी दुई प्रदेशमा पनि क्यान्सर उपचार सेवा सुरु गरिने मन्त्री पौडेलले बताए ।

पूर्वाधारका हिसाबले सक्षम भएर पनि भरतपुर अस्पतालमा एमबिबिएस कार्यक्रम संचालन हुन नसक्नुमा विभिन्न कारण बाधक रहेको मन्त्री पौडेलको भनाइ थियो । ‘एमबिबिएस कार्यक्रम संचालनको कुरा चिकित्सा शिक्षा आयोगसँग पनि सम्बन्धित छ । आयोगले स्वीकृति दिनुपर्छ । आर्थिक पक्षको पनि कुरा छ’ उनले भने, ‘पोखरा र राप्तीमा प्रतिष्ठान भएकोले त्यहाँ एमबिबिएस सुरु भइसकेको छ । भरतपुरमा प्रतिष्ठान नभएकोले पनि समस्या परेको हो ।’

भरतपुर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम रोकिन लागेको भन्ने हल्लाप्रति संकेत गर्दै मन्त्री पौडेलले आधिकारिक व्यक्तिबाट जथाभावी अभिव्यक्ति नदिन निर्देशन दिए । उनले भने, ‘कसैले पनि अब बिमा रोकियो नभन्नुहोला । सरकारी अस्पतालले त झन् भन्नै मिल्दैन ।’ स्वास्थ्य बिमा कार्यक्रमलाई वार्षिक ४० अर्ब रुपैयाँ आवश्यक पर्ने तर सरकारबाट १० अर्ब रुपैयाँ मात्र निकासा हुने गरेकोले यसबारे सरकारले सोच्नु पर्ने उनको भनाइ थियो ।

‘राज्यले आम्दानी गर्ने राजस्वमा शुन्य दशमलव पाँच प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्छ’ उनले भने, ‘नेपालका ६६ लाख घरधुरीलाई स्वास्थ्य बिमामा जोड्न सकियो भने नेपालको स्वास्थ्य क्षेत्रमा समाजवाद आउँछ ।’

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले पनि मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट