मातृत्व (कविता)

छन्द : मन्दाक्रान्ता

हुर्के तिम्रै स्तनरस पिई ईश, अल्लाह सारा
संसारैको अनुपम कला मातृवात्सल्य धारा
खोपे होलान् मधुर सृजना कन्दरामा पुगेर
आमाभन्दा अमर कविता लेख्न कल्ले सके र ?

आगो हैनन् तर पनि बलिन् वेदनाका चुलामा
बाँड्छिन् सेतो किरण हिउँको जाकिँदै जो धुलामा
कौशल्याको श्रम यदि भुले राम नै राम हुन्न
आमाभन्दा परतिर कुनै तीर्थ वा धाम हुन्न ।

सिङ्गो धर्ती वरिपरि डुल्यो प्रेम आफैँ नुगेर
सक्छौ किन्नै करुण, ममता विश्वका हे कुबेर
धर्ती रुन्छिन् धुरुधुरु भने नर्क अर्को हुँदैन
आमाभन्दा अति सुख दिने स्वर्ग अर्को हुँदैन ।

ऐया आत्था भनिनु पहिल्यै मौनता गीत बुझ्छिन्
बैसाखीमै बरु जिउँदछिन् पाउ काटेर दिन्छिन्
संसारैमा यति चहकिलो त्यागको नेत्र छैन !
आमाभन्दा परतिर कुनै शान्तिको क्षेत्र छैन ।

सन्चो पार्ने कति कति व्यथा घाउमा नै चुमेर
हड्डी घोटीकन बितिगए बैँस फुल्ने उमेर
फुल्ने फल्ने ढकमक त्यसै हेर मातृत्व कस्तो
आमाभन्दा शुभ लगन खै सृष्टिमा छैन जस्तो ।

निन्द्रा त्यागी युग युग बिते छोड्छ को खै स्वधर्म
आमाभन्दा परतिर कुनै छैन निस्स्वार्थ कर्म
चाहे,भाला, बम र खुकुरी गर्जियुन् जत्ति चर्को
आमाभन्दा प्रगतिपथको छैन गन्तव्य अर्को ।

नाप्नै सक्ला मुखकृति कहाँ टल्किएको सिसाले
राम्री के नै छु र म त भनिन् हेर मोनालिसाले
टल्केको हो हृदय जसको दाग फोहोर धोई
आमाभन्दा भुवनभरमा सुन्दरी छैन कोही ।

जाँतो पिँध्दा पिरहरू पिँधी बन्न सक्ने प्रतापी
बाचुन्जेलै क ख ग नचिनुन् ब्रह्मज्ञानी तथापि
जो आफैँमा परमपद हो मोक्षको के जमर्को
आमाभन्दा बहुत गहिरो छैन अध्यात्म अर्को ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट