प्रमिता ढकाल
भरतपुर,२३ कात्तिक ।चितवनका महिला मतदातामा ठूलो संख्यामा मत आफ्नो हातमा रहेपनि महिला नेता छान्न पाउने अवसर भने नपाउने देखिएको महिला मतदाताले गुनासो गरेका छन् । यहाँ पुरुषको तुलनामा महिला मतादाता संख्या बढी भएपनि लोकतान्त्रिक र वाम गठबन्धनले प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा महिला उम्मेद्वार बनाउन कन्जुस्याइँ गरेपछि मतदाता महिलाहरु खिन्न छन् ।
ठूला भनिएका दलहरुले गठबन्धनबाट केन्द्रीयस्तरका नेतालाई चितवनबाट उम्मेद्वार बनाएपनि महिलालाई स्थान दिएका छैनन् । जिल्लामा ३ लाख ५४ हजार ३ सय ६ मतदातामध्ये १ लाख ८४ हजार ६८ जना महिला मतदाता छन् । तीन वटा निर्वाचन क्षेत्रमा गरी कूल ४२ जना उम्मेद्वार प्रतिनिधि सभाको लागि मैदानमा छन् । जसमा दुई जना मात्र महिला छन् । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि १३ जना चुनावी मैदानमा रहँदा महिला संख्या शून्य छ । यस्तै क्षेत्र नम्बर दुईमा १५ जना चुनावी मैदानमा रहँदा राष्ट्रिय जनता पार्टीले मात्र एक जना महिलालाई उम्मेद्वार बनाएको छ । सो क्षेत्रमा रीता चौधरी प्रतिष्पर्धामा छिन् ।
प्रतिनिधिसभाकै लागि क्षेत्र नम्बर ३ मा १४ जना उम्मेद्वार छन्, जहाँ एक मात्र महिला भगवती प्रसार्इं स्वतन्त्र उम्मेद्वार बनेकी छन् । यस क्षेत्रमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्वार वनमन्त्री विक्रम पाण्डेसँग उनी प्रतिस्पर्धामा उत्रिएकी छन् । प्रदेश सभाको लागि पनि महिला उम्मेद्वारले स्थान पाएको देखिदैन । निर्वाचन क्षेत्र १ बाट प्रदेशसभा (क) का लागि १ जना महिलाले उम्मेद्वारी दिएकी छन् । भवानीदेवी घिमिरेले नयाँ शक्ति पार्टीबाट उम्मेद्वारी दिएकी हुन् । निर्वाचन क्षेत्र १ बाट प्रदेशसभा (ख) का लागि तुलसी सापकोटाले नेपाल मजदुर किसान पार्टीबाट उम्मेद्वारी दिएकी छिन् । निर्वाचन क्षेत्र एकको दुवै प्रदेशमा गरी कूल २० जना उम्मेद्वार छन् ।
निर्वाचन क्षेत्र नम्बर दुईको प्रदेश (क) मा बुद्धलक्ष्मी स्याङ्तानले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वारी दिएकी छन् । क्षेत्र नम्बर २ को प्रदेश (ख)मा मेनुका थापा मगरले नेपाल मजदुर किसान पार्टीबाट उम्मेद्वारी दिएकी छिन् भने नेकपा (माले) बाट सरस्वती शर्मा पौडेलले उम्मेद्वारी दिएकी छन् । निर्वाचन क्षेत्र नम्बर दुईमा कूल १९ जना उमेदावर छन् । प्रदेशसभाकै लागि नयाँ शक्तिबाट क्षेत्र नम्बर ३ (क) बाट मक्कुमाया गुरुङले उम्मेदवारी दिएकी छन् । यो क्षेत्रमा दुवै प्रदेशमा गरी कूल १४ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।





