भरतपुर, ४ असाेज ।
नाबालिका बलत्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा चितवनमा अभियान नै सुरु गरिएको छ । ‘सन्दीप बचाऊ अभियान २०७९’ नाम दिइएको यो अभियानको नेतृत्व यहाँका क्रिकेट क्लब सञ्चालक मनिस सापकोटा रहेका छन् ।
अभियानले सन्दीप लामिछानेमाथिको आरोप लागेको घटनाको समाधान ‘दुवै परिवारलाई वार्तामा राखेर गर्नुपर्ने’ तर्क गरेको छ । नेपालको विद्यमान कानुनले नाबालिकासँग सहमतिमै यौनसम्बन्ध राखे पनि जबरजस्ती ठहरिने व्यवस्था गरेको छ ।
सोही आधारमा १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले जबरजस्ती गरेको आरोप लगाइ उजुरी गरेकी छन् । उजुरी परेपछि अन्तर्राष्ट्रिय क्रिकेट नै त्यागेर छिट्टै स्वदेश फर्किने घाेषणा गरेका सन्दीप अहिले भने सम्पर्कविहीन छन् ।
उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे थियाे । तर, वेस्ट इन्डिज रहेका सन्दीप स्वदेश फर्किने छाँटकाँट नदेखेपछि प्रहरीले इन्टरपाेल गुहारेकाे छ ।
सन्दीपलाई पक्राउ गर्न प्रहरी जाेडताेडका साथ लागिरहेकाे अवस्थामा उनले क्रिकेट सिकेकाे नगर चितवनमा भने कानुनकै अवहेलना हुने गरी ‘वार्ताबाट सफल अवतरण’ गर्नुपर्ने भनिएकाे छ ।
“यस घटनामा जे जस्ता विवरण सञ्चारमाध्यमबाट आइरहेको छ, त्यसमा सत्यता छैन। सत्य एउटै हुन्छ र घटनाको विश्लेषण धेरै प्रकारका हुन्छन्”, अभियानकाे नाममा संयाेजक मनिस सापकाेटाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ- “यही घटनामा जाहेरी आएको विवरणलाई नजिर मान्ने हो भने नेपालका जेलहरु भरिन सक्छ समाजको संरचना नै बिग्रेर अराजकता र विद्रोहतिर समाज र युवा परिचालित हुन्छ ।”
अभियानले नाबालिका बलात्कारजस्ताे जघन्य अपराधमा आराेप लागेकाे विषयलाई पनि नजरअन्दाज गर्दै भनेकाे छ- “हामी नेपाल सरकारलाई यस घटनाको मध्यस्थता गर्दै र सबै पार्टीका युवा नेता र राज्य संयन्त्रलाई परिचालित गराई दुवै परिवारलाई वार्तामा राखेर यस घटनाको सफल अवतरण गर्नको लागि सरकारसँग अनुरोध गर्दछौं।”





