भरतपुर, ४ असोज ।
अमर मावि पटिहानी भरतपुर-२२ पदमपोखरीमा कक्षा ९ मा पढ्छन् एञ्जल महतो । एञ्जललाई पाठ्यक्रमका अलावा अतिरिक्त पुस्तकहरू उपन्यास, जीवनी तथा कथाहरू पढ्न मन लाग्छ । उनले झमक घिमिरेको `जीवन काँडा कि फूल´ र मनोज चौधरीको उपन्यास `टुकी´ पुस्तक पढेका छन् । `यी किताब मैले आँसु झारेर पढेको हुँ, मलाई बेस्सरी मन छोएका किताब हुन्´ एञ्जलले भने – `मलाई यस्तै खालका किताबहरू मन पर्छन्, सामाजिक विषयमा लेखिएका कथा भएका किताब पढ्न मन पराउँछु ।´
अमर माविमा पढ्दै गरेका एञ्जल जस्तै अन्य विद्यार्थीलाई विद्यालयले केही पत्रपत्रिका वितरण गरेको छ । बालदिवसका अवसरमा विद्यालयले कक्षा ९, १० र ११ कक्षाका विद्यार्थीलाई मुना, युवामञ्च, मधुपर्क र नारी पत्रिका वितरण गरेको हो । विद्यार्थीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सिर्जनात्मक बनाउन र पठन संस्कार बसाउन पत्रिका वितरण गरिएको प्रधानाध्यापक बुद्धिमान शर्माले बताए ।
अमर माविमा पुस्तकालय पनि छ । पुस्तकालयमा विभिन्न पुस्तकहरू राखिएका छन् । `विद्यार्थीहरूले खाली समयमा पुस्तकालयमा गएर पढ्ने गरेका छन्´, प्रधानाध्यापक शर्माले भने -`सबै विद्यार्थीले पढ्न रुचि देखाउँदैनन्, विद्यार्थीमा सकेसम्म पढ्नुपर्छ भन्ने बानीको विकास होस् भन्ने हाम्रो लक्ष्य हो ।´
कक्षा ९ मा पढ्ने विशेष श्रेष्ठले मुना र युवामञ्च हातमा देखाउँदै भने- `मुना मलाई मनपर्ने पत्रिका हो, कहिलेकाही बजार जाँदा यो पत्रिका खोजेर ल्याउँथें, आज विद्यालयमै पाउँदा खुसी लाग्यो ।´ विशेष जस्तै कक्षा ९ मै पढ्ने इशान लामाले पनि मुना र युवामञ्च अबदेखि नियमितरूपमा खोजेर पढ्ने बताए । `यी पत्रिकामा हामीलाई पढाइमा सहयोग पुग्ने थुप्रै सामग्रीहरू हुँदा रहेछन्´, लामाले भने ।
कक्षा १० मा पढ्ने सोनिया विष्ट र अमृत क्षेत्रीले पनि पत्रपत्रिका र साहित्यका पुस्तकहरू आफूलाई मनपर्ने बताए । `विद्यालयमा पुस्तकालय छ, तर हाम्रो पुस्तकालय नियमित अपडेट छैन, बजारमा राम्रा किताब आउने बित्तिकै हाम्रो पुस्तकालयमा पनि आयो भने हामीलाई पढ्न सजिलो हुन्थ्यो´, उनीहरूले भने ।
कक्षा ११ मा अध्ययनरत ललिता क्षेत्री र सचिन विकले अतिरिक्त पुस्तक पढ्ने बानीले हिजोआज पढाइमा रुचि जाग्दै गरेको बताए । ललिताले हिजोआज आफूलाई पनि केही पढौँपढौँ, केही लेखौँलेखौँ भएको बताइन् ।
नेपाली विषय पढाउने शिक्षिका मीनादेवी घिमिरेले विद्यार्थीहरूलाई सिर्जनशील बनाउन पत्रिका उपलब्ध गराएर हौसला बढाएमा सफल भइने बताइन् । `पत्रिका पाएर विद्यार्थीहरू खुसी छन्, उनीहरूमा अध्ययन गर्ने बानी बसाल्न विद्यालय र अभिभावकले वातावरण बनाइदिनु पर्छ ।´ पत्रिका वितरण कार्यक्रममा शिक्षक मनोज चौधरी र कुलप्रसाद काफ्लेले विद्यार्थीहरूलाई अतिरिक्त पुस्तक पढ्ने बानीले व्यावहारिक ज्ञान आर्जन हुने बताए । प्रधानाध्यापक बुद्धिमान शर्माले विद्यालयको पुस्तकालयलाई अद्यावधिक गरेर बालबालिकालाई अतिरिक्त पुस्तक अध्ययनमा सहजीकरण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।





