भरतपुर, ७ वैशाख ।
कविडाँडा साहित्य समाजको २०औँ वार्षिकोत्सव समारोह, सम्मान तथा पुरस्कार वितरण-२०७९ का कार्यक्रमहरू सार्वजनिक भएका छन् । वैशाख ३ गते बसेको समाजको कार्यसमिति बैठकले संस्थाको २०औँ वार्षिकोत्सव समारोह २०७९ जेठ १४ गते चितवनमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।
उक्त समारोहमा कविडाँडा साहित्य समाजद्वारा प्रदान गरिने सम्मान तथा पुरस्कारहरू पनि घोषणा भएका छन् । जसअन्तर्गत कविडाँडा राष्ट्रिय सुवर्ण-तुलसी काव्य पुरस्कार -२०७९ बाट पोखरा निवासी वरिष्ठ कवि तीर्थ श्रेष्ठ सम्मानित हुने भएका छन् । त्यस्तै कविडाँडा देव-खीना स्मृति सम्मान तथा पुरस्कार – २०७९ मकवानपुरका वरिष्ठ साहित्यकार तुलसी थापा र चितवनका वरिष्ठ साहित्यकार रेशम विरहीलाई प्रदान गरिँदैछ ।
त्यस्तै कविडाँडा अविनाशी कृति पुरस्कार -२०७८ उपन्यासकार सिर्जन अविरलको २०७८ सालमा मा प्रकाशित ‘मोक्ष’ उपन्यासलाई दिइने भएको छ । त्यस्तै कविडाँडा राष्ट्रिय युवा वाङमयी प्रतिभा पुरस्कार नवलपरासीपूर्व गैंडाकोट निवासी कायाकैरन दैनिकका पत्रकार लेखराम सापकोटालाई दिइने समाजका अध्यक्ष एलबी क्षेत्रीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।





