भरतपुर, ७ वैशाख ।
नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका नेता विजय सुवेदीले आफू मेयरमा निर्वाचित भएको पाँच वर्षभित्र भरतपुरलाई संसारकै सुन्दर शहर बनाउने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको ‘भरतपुरको विकास र समृद्धिः नागरिकको अपेक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सुवेदीले व्यवस्थित गुरुयोजना बनाएर संसारकै सुन्दर शहर बनाइने बताएका हुन् ।
“पहिलो वर्ष गुरुयोजना निर्माण र अभिलेखिकरणमा लाग्नेछौँ, त्यसपछि ३ वर्ष गौरवपूर्ण भरतपुर बनाउन सबैलाई आव्हान गर्नेछौँ”, उनले भने, “महानगरबासीको वायोडाटा लिएर समस्या तत्कालै सम्बोधन गर्ने टास्क फोर्स बनाउनेछौँ ।” स्थानीय निकायबाट स्थानीय सरकार बनिसकेपनि पुरानै अव्यवस्था दोहोरिएकाले त्यसबाट मुक्ति दिलाउँदै व्यवस्था सुरुवात गर्न उम्मेदवारी दिइएको बताए ।
“गुरुयोजना विना विकास लिकमा हिड्न सक्दैन”, उनले भने, “चितवनका सबैपालिकासँग सहकार्य गरेर चितवनमा एकरुपता विकासको नेतृत्व महानगरले गर्नेछ ।”
उनले प्रशासन सेवामुखी, राजनीति जनमुखि नभएकाले जनतामा आएको निराशा महानगरले हटाउने तर्क गरे । “व्यवस्थित विकास थाती रहेकाले प्रदेश सांसद भएपनि मेयर बन्न आएको हुँ”, नेता सुवेदीले भने, “अब महानगरमा कोही पनि घरबारविहिन हुनेछैनन्, घरनहुनेलाई कोलेनी बनाएरै राख्नेछौँ ।” उनले बसोबासकै आधारमा जग्गाको स्वामित्व दिइने बताए । जनताका समस्या सम्बोधन गर्न २४ सै घण्टा रेस्पोन्स टिम बनाएर कामहरु गरिने योजना सुनाए ।
महानगरलाई बगैँचाका रुपमा विकास गरिने बताए । सबै सडकको दुबैतर्फ फलफूल, फूलहरु रोपेर हरियाली बनाइने बताए । “मेयर बनेर सेवक बन्नेछु, जनतासँग जोडिएरै काम गर्नेछु”, उनले भने, “विद्वान, विज्ञ सबैको सल्लाह समेटेर व्यवस्थित गुरुयोजना बनाएर विकास गर्नेछौँ ।” सुवेदी हाल बागमती प्रदेश सांसद छन् ।
चितवन २(ख)मा निर्वाचित सुवेदीको संयोजकत्वमा २०६६ मा नवलपरासी र मकवानपुरका केही भागलाई समेटेर वृहत चितवन निर्माण गर्ने गुरूयोजना बनाइएको थियो । २०५६ चितवन क्षेत्रनम्बर ४ बाट र २०६४ मा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए । २०७४ को चुनावमा भरतपुरमा मेयरमा कांग्रेस–माओवादीको गठबन्धनका उम्मेदवारसँग एमालेका उम्मेदवार २ सय ३ मतान्तरलेमात्रै पराजित भएका थिए । अन्त्तरक्रिया कार्यक्रममा सहभागी विज्ञहरुले महानगरका विकास एजेण्डाबारे सुझाव दिएका थिए ।





