भरतपुर, १६ चैत ।
कवि एवम् साहित्यकार एलबी क्षेत्रीले हालै गठन भएको भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको सदस्यमा आफू नरहने बताएका छन् ।
भरतपुर महानगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि गत चैत ७ गते प्रज्ञा प्रतिष्ठान गठन गरेको हो ।
मंगलबार प्राज्ञहरूलाई सपथ ग्रहणको कार्यक्रम राखिएकोमा सदस्यमा नियुक्ति पाएका एलबी क्षेत्री उक्त कार्यक्रममा सहभागी भएनन् । क्षेत्रीले बुधबार सामाजिक सञ्जालमार्फत आफू उक्त पदमा नरहने बताएका छन् । क्षेत्रीले उक्त पद अस्विकार गरेको लिखित पत्र प्रज्ञापरिषद् र प्रज्ञासभा सदस्यसचिव बालकृष्ण थपलियालाई बुझाएको कायाकैरनलाई बताए ।
क्षेत्रीले लेखेका छन् : `मेरा आफ्नै सिमाना, बाध्यता र समयाभावले गर्दा म यस गरिमामय प्रज्ञा प्रतिष्ठानमा प्रज्ञासभा सदस्य भएर बस्न असमर्थ रहेको जानकारी गराउँदछु । कृपया मेरो ठाउँमा कुनै उपयुुक्त व्यक्तिलाई नियुक्त दिनु होला ।´ भरतपुर महानगरपालिकाले भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान गठन गरेकोमा भने क्षेत्रीले खुसी व्यक्त गर्दै बधाई ज्ञापन गरेका छन् ।
प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञा सभा सदस्यहरूमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडा अध्यक्ष सहित तीनजना कार्यपालिका सदस्य र नगर शिक्षा अधिकारीसमेत गरी ३१ सदस्यीय प्रज्ञा सभा गठन भएको हो ।
गत पुस ८ गते सम्पन्न महानगरको दशौं नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेको थियो ।
महानगर प्रमुख रेनु दाहाल कुलपति रहेको प्रतिष्ठानमा साहित्यकार इन्द्रप्रसाद रेग्मी उपकुलपति मनोनित भएका हुन् । त्यस्तै साहित्यकारहरू केदारनाथ खनाल, प्रकाश चापागाईं र विष्णुदेवी तिवारी उषालाई प्रज्ञा परिषदको सदस्यमा मनोनित भएका छन् ।
यसैगरी महानगरले प्रज्ञा सभा सदस्यहरूमा एलबी क्षेत्रीसहित अमृता रामदाम, डा एकनारायण पौडेल, प्राडा कर्ण बानियाँं, डा केशवराज चालिसे, किसान प्रेमी, गायत्री श्रेष्ठ, डा धनेश्वर भट्टराई, प्राडा नारायणप्रसाद खनाल, पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, भूपेन्द्र खड्का भूपिन, रमाकान्त सापकोटा, रामहरि श्रेष्ठ, शशीकिरण रेग्मी रह शर्मा, श्रीराम महतो, सुरेन्द्र अस्तफल, हरि योञ्जन र होमनाथ भण्डारीलाई मनोनयन गरेको थियो ।
महानगरपालिकाले कार्यपालिका सदस्यहरू मध्येबाट वडा नम्बर २५ का वडाअध्यक्ष विजय भुजेल र कार्यपालिका सदस्यहरू चक्र रूचाल र पवित्रा केसीलाई प्रज्ञा सभा सदस्यमा मनोनयन गरेको छ ।
यसैगरी प्रज्ञा परिषद र प्रज्ञा सभाको सदस्य सचिवमा महानगरका अधिकृत छैठौं बालकृष्ण थपलियालाई मनोनयन गरेको छ । 





