काठमाडौँ,१६ चैत।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसकिने सत्तारुढ दलको बुझाइ ठीक रहेको बताएका छन् ।
बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन गरे पनि एमालेसँग भिड्न उनीहरूलाई सहज नहुने दाबी गरेका हुन् ।
‘पाँच दलीय गठबन्धन एक/एक किलाका ढक हुन् । एमाले क्विन्टलको ढक हो । एउटै तराजुमा ती दुवै ढक राख्दा के हुन्छ,’ उनले भने । सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन रहेको आरोप लगाउँदै ओलीले पाँच दलसँगै आए पनि एमालेसँग भिड्न गाह्रो हुने दाबी गरे ।
सत्ता गठबन्धनले कुरा नमिल्ने देखेरै निर्वाचन आयोगलाई भनेर मनोनयनको समय दुई दिन राखेको उनले बताए । ‘निर्वाचन आयोगले मनोनयनको दर्ता दुई दिन राखेको छ । गठबन्धनमा कुरा मिल्दैन भनेर दुई दिन राखिएको हो । नत्र मनोनयन पनि दुई दिन राखिन्छ र ?,’ उनको प्रश्न थियो ।




