नाबालिगमाथि यौनहिंसा र बलात्कारका विषयमा बहस सुरु भएको छ । अभिनेता पल साहविरुद्ध एक किशोरीले तनहुँ र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दिएपछि यो बहस अझ चर्किएको छ । नाबालिगमाथि यौनहिंसा र बलात्कारका घटना प्रायः गुपचुप हुने गरेको र यसपालि ‘सेलिब्रिटी’ बाटै त्यस्तो कुकर्म भएको भन्ने आरोपले पनि यस विषयलाई सतहमा ल्याएको हो ।
यसै सन्दर्भमा चितवनको माडी नगरपालिका–१ स्थित सोमेश्वर माध्यमिक विद्यालयका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय भरतपुरमा जाहेरी दर्ता भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा स्कुल ड्रेसमै केही विद्यार्थीहरु अभिभावकसहित आएर प्रहरीमा जाहेरी दिएका थिए ।
आरोपित निज शिक्षकले पटकपटक द्विअर्थी शब्द बोल्दै छात्राहरुलाई यौनहिंसा गर्दै आएको भन्ने विद्यार्थीहरुको आरोप छ । विद्यार्थीहरुले यस घटनाको प्रतिकार गरे । आरोपित शिक्षकलाई मोसो दले । विद्यालयमा तालाबन्दी गरे । उक्त शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै सर्वपक्षीय बैठक बसेर घटना सामसुम पार्न खोजिएपछि आइतबार अभिभावक र विद्यार्थी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न आइपुगेका हुन् । ती शिक्षकबाट ‘अति’ नै भएपछि आफूहरु प्रतिकारमा उत्रेको विद्यार्थीहरुको भनाइ छ । घटना बाहिर आएपछि दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको पहल गर्नुको साटो घटना सामसुम पार्न खोजेपछि मोसो दलेको उनीहरुले बताएका छन् । आरोपित शिक्षकमाथि मोसो दलिनु गलत छ । न्यायका लागि प्रहरी, प्रशासन र अदालतको ढोका ढक्ढक्याउने हो । कानुनलाई हातमा लिने काम कसैले पनि गर्नुहुँदैन ।
यौनहिंसा र दुर्व्यवहारको आरोप लागेका शिक्षकविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा बालिकाकी आमा र केही विद्यार्थी समेतले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता गरेका छन् ।
शिक्षक विरुद्ध प्रहरीमा जाहेरी परेपछि आइतबार नै नेपाल शिक्षक संघ, माडी नगर समिति चितवनका अध्यक्ष विश्वनाथ घिमिरेले एक अपिलमार्फत् आरोपित शिक्षकको पक्षमा संघलाई उभ्याएका छन् । यो झनै गलत छ । सत्य, तथ्य के हो भन्ने कुरा प्रहरीले अनुसन्धानबाट छिनोफानो गर्छ । जाहेरी परेपछि प्रहरीले आवश्यक अनुसन्धान गर्छ । अनुसन्धान सकिएपछि मुद्दा अदालत जान्छ । यौनहिंसा र दुर्व्यवहारजस्तो गम्भीर आरोपलाई नजरअन्दाज गर्दै कानुनी प्रकृयामा गएकै विषयमा आपत्ति जनाउनु शिक्षक संघको गम्भीर गल्ती हो । पेशागत ऐक्यवद्धता सही कुराको लागि हुनुपर्छ, गलत काम ढाकछोप गर्नका लागि होइन ।





