भरतपुर, २७ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आगामी निर्वाचनबाट एकल सरकार बनाउन सक्ने दाबी गरेका छन् । कांग्रेस चितवनको पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले रुख चिन्हकै मतबाट एक्लै सरकार बनाउन तागत कांग्रेससँग रहेको जीकिर गरे ।
“अरु पार्टीको साहरा लिनुपर्दैन, कांग्रेसको घरलाईमात्रै एकतावद्ध बनाउँदै ठिक सन्देश बोकेर जनतामाझ जानुपर्छ”, उनले भने, “यतिबेला अधिकांश पार्टी टुटफुट भएका छन्, हामी एक्यवद्ध छौँ ।” उनले ४५ लाख मत ल्याउने पार्टीका रुपमा कांग्रेस स्थापित हुने दाबी गरे । जिम्मेवारी र जवाफदेहिताको राजनीति, उत्तेजनाको राजनीतिको विपक्षमा चेतनाको राजनीति र कांग्रेसले दिने सुशासनको सन्देश लिएर जनतामाझ जानुपर्नेमा जोड दिए ।
स्थिरिताको लाभ, विकास निर्माणको लाभ पाउनुपर्नेमा नेपाल कम्युनिस्ट पार्टी, त्यस पार्टीका नेता र नेतृत्वकै अयोग्यता, अर्कमण्यतालालचका कारण नेपालले प्राप्त गर्ने लाभ गुमाएको टिप्पणी गरे । अदालत, संसद, प्रदेश सरकार, अर्थतन्त्रमा जटिलता जताततै समस्याहरुको मुख्य कारक नेकपाकै असफलता भएको आरोप लगाए । उनले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति एक दिनपनि तलमाथि नहुने बताए । जिल्ला, क्षेत्र, प्रदेश तहले पाएका जिम्मेवारी प्रयोग गरेर २२ गतेतिर उम्मेदवारहरु चयन गरी जनतामाझ मत माग्न जाने तयारी हुने बताए ।




