रत्ननगर, १५ फागुन ।
ओमिक्रोनको महामारी बढ्दै गएपछि सञ्चालनमा नआइ स्थगन भएको रत्ननगर महोत्सव आइतबारदेखि सुरु भएको छ । महोत्सवको ११औं संस्करण टाँडीस्थित टिकौली चौरमा सुरु भएको हो । गत पुस २७ गते सुरु हुने भनिएको महोत्सव कोरोनाको तेस्रो लहर ओमिक्रोनका कारण स्थगित भएको थियो ।
रत्ननगर उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको भव्य उद्घाटन गरिएको छ । विभिन्न संघसंस्थाको उपस्थितिमा हात्ती सहितको शोभायात्राबाट सुरु गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबावु श्रेष्ठले गरेका हुन् ।
फागुन २३ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा महोत्सवमा कृषि र पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिइएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४२५ स्टलहरु रहेका छन् ।
यसपटकको महोत्सवमा करिब १५ करोड भन्दा बढिको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले व्यवसायीहरुले महोत्सवलाई एउटा अवसरको रुपमा लिने पनि बताएका छन् । `कोरोनाले गर्दा दुई वर्षदेखि सुस्ताएको व्यापार, व्यवसायलाई अर्थतन्त्रसँग जोडिएका मेला-महोत्सवले केही हदसम्म भएपनि उकास्नेमा व्यवसायीहरु विश्वस्त रहेका छन् ।´ श्रेष्ठले भने ।
स्थगित भएको महोत्सवलाई एउटा अवसरको रुपमा हेरिरहँदा स्टेजमा भने अतिथि नेताहरुले एमसिसीको बारेमा मत जाहेर गरिरहेका थिए । देशकै एउटा मुद्दाको रुपमा रहेको एमसिसीको पक्ष र विपक्षमा नेताहरु बिच भनाभन नै भयो । काँग्रेसका नेता तथा पूर्व शिक्षामन्त्री शेषनाथ अधिकारीले एमसिसी नेपालको हितको लागि भएको बताए । अनुदानको रकमले गरिबी निवारणका साथै देशको विकासमा सघाउ पुग्ने उनले प्रष्ट पारे ।
एमालेका नेता तथा पूर्व प्रदेशमन्त्री दावादोर्जे लामाले भने एमसिसी स्विकार्न नसकिने बताए । एमसिसी देश हितको लागि नभएको पनि उनले बताए । माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सांसद कञ्चन खनालले एमसिसीका विरुद्धमा खबरदारी गर्नुपर्ने बताइन् । एमसिसीको विरुद्धमा जनस्तरबाट नेताहरुलाई खबरदारी गर्न आवश्यक रहेको पनि उनले बताइन् ।
कार्यक्रममा महोत्सव मूल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले उद्योगमा लगानीको वातावरण सिर्जना गर्न राज्यको ध्यान जान आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी, प्रदेश मन्त्री कृष्णप्रसाद भूर्तेल, उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।