काठमाडौं, ६ पुस ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेका छन् ।
पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरुविपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्याउने काम लगातार गरेको आरोप लगाउँदै मिश्रले पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् ।
‘विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार तपाईंसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च.सं. ५०१) माग गरिएको विदितै छ । पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टीकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ,’ मिश्रले जारी गरेको कारबाहीपत्रमा भनिएको छ ।
गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद बढेको थियाे । 





