राप्ती, १ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा प्रथम गड्यौली महोत्सव हुने भएको छ । राप्ती नगरपालिका- २ स्थित गडयौली चौरमा यही पुस १४ गतेदेखि २४ गतेसम्म महोत्सव हुने भएको हो ।
आयोजक संस्था गडयौली भिलेजले बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
कृषि, पर्यटन, व्यापार र खेलकुदको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजक संस्थाका संयोजक गणेश लामाले बताए ।
“कोरोनाले अस्तव्यस्त बनाएको व्यापारलाई उकास्नु नै यसको मुख्य उद्देश्य हुनेछ । ५० हजार भन्दा बढी दर्शक उपस्थित गराउने हाम्रो लक्ष्य रहेको छ ।” उनले भने ।
महोत्सवको आयोजना गर्न करिब ३० लाख लागत लाग्ने पनि बताइएको छ । महोत्सवमै डान्स आइडल हुनेछ । जसमा प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ११ हजार प्राप्त गर्नेछन् ।
`महोत्सव आयोजना गरिनु आयोजकको लागि एक चुनौती पनि हो´, नेकपा (एकीकृत समाजवादी) राप्ती नगर अध्यक्ष शमशेर लामाले कार्यक्रममा बोल्दै भने- `अहिले जहाँ हेर्छु हरेक किसिमका द्वन्द्व देख्छु, यसले हाम्रो संस्कार, परम्परा र समुदायलाई असर गरेको छ । म यहीँ राप्ती नगरपालिकामा पनि जनताको प्रतिनिधि र जनता बीच नै द्वन्द्व देख्छु । यो महोत्सवले त्यो द्वन्द्वलाई नि न्युनिकरण गर्छ भन्ने विश्वास लिएको छु ।´
युगज्योति युवा क्लबको सहआयोजना रहने उक्त महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने पनि आयोजक संस्थाले जनाएको छ ।





