भरतपुर, २८ मंसिर ।
चितवन हिमाल डेन्टल प्रालिले १८औं वार्षिकोत्सवको अवसर पारेर १५ दिने दन्त शिविर सञ्चालन गर्ने भएको छ । पुस १ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
शिविरमा चितवन हिमाल डेन्टल प्रालिले दिने सबैखाले सेवामा ३० प्रतिशत छुटको व्यवस्था रहेको सञ्चालक रञ्जिता अधिकारीले बताइन् । शिविरको अवसरमा निशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेका दाँत मिलाउने, दाँतमा सिसा,चाँदी तथा सिमेन्ट भर्ने, दाँतमा हिरा जडान गर्ने, दाँतको डिजिटल एक्स रे तथा मेसिनबाटै आरसिटी सेवा प्रदान गरिने बताइएको छ ।
स्वास्थ्य सेवा प्रदायक संस्थाहरुबीच प्रतिष्पर्धाको तीव्र होडबाजीमा समेत एक सय रुपैंयाको टिकट शुल्क कायम गरी प्रत्येक सेवाग्राहीको रेकर्ड राखेर आजीवन टिकट काट्नु नपर्ने सुविधा प्रदान गर्दै आएको सञ्चालक अधिकारीले जानकारी दिइन् । `सुरुदेखि एउटै शुल्क राखेर काम गर्दा हामीले सेवाग्राहीको जुन विश्वास जितेका छौं´, अधिकारीले भनिन् – `हाम्रो लागि यही ठूलो हो, शिविरका बेला चाप बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै अनकल चिकित्सकीय सेवा दिने तयारी समेत गरेका छौँ ।´
स्थापनादेखि हालसम्म आइपुग्दा समुदायमा केही हदसम्म मुख स्वास्थ्यबारे चेतना बढेको चितवन हिमाल डेन्टल प्रालिका व्यवस्थापक जयराम जोशीले बताए । `हामीले यो डेन्टल स्थापना गरेको सुरुआती दिनमा मुख सुन्निएपछि मात्र जचाउन आउनेहरु धेरै थिए,´ जोशीले भने- `आजभोली कम्तीमा वर्षमा एकपटक जचाउनुपर्छ भन्ने चाँही चेतना बढेको पाएका छौं । आरनमा गएर दाँत निकालेर विभिन्न समस्या भएपछि आइपुगेका थुप्रै केशहरु सम्झिदा यस्ता पनि दिन थिए जस्तो लाग्छ ।´
दाँतको समस्या सिजनल हुने बताउँछन् चितवन हिमाल डेन्टल प्रालिका डाक्टर राजीव काफ्ले । तुलनात्मक रुपमा जाडो महिनामा सेवाग्राही अलि धेरै आउने उनले बताए । यसबाहेक विदेशबाट छुट्टीमा आएका नेपालीहरु धेरै संख्यामा उपचारका लागि आउने गरेको उनको अनुभव छ । दशैं तिहारका बेला विदेशबाट उपचारका लागि आउनेको चाप अझ बढी हुने उनले बताए । `विदेशमा दाँतको उपचार महंगो हुन्छ´, उनले भने- `त्यसैले नेपाल आएको मौकामा दाँतको उपचार गरेर जानेहरुको फ्लो बढ्छ ।´
पछिल्लो दुई वर्षमा मात्र चितवन हिमाल डेन्टल प्रालिबाट १२ हजार सेवाग्राहीले सेवा लिएका छन् । कोभिड संक्रमणको महामारीको समयमा समेत विश्व स्वास्थ्य संगठनको न्यूनतम मापदण्ड ख्याल राखी सेवाग्राहीलाई प्राथमिकतामा राखी काम गरेको डेन्टलको दावी छ ।





