काठमाडौँ, २८ मंसिर ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ को वाग्मती प्रदेश अन्तर्गतको छनौट प्रतियोगिताको फाइनलमा काठमाडौँ र ललितपुर भिड्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा चितवनलाई काठमाडौँले ८८ रनले पराजित गरेपछि ललितपुरलाई फाइनल खेल्ने बाटो खुलेको हो ।
मुलपानी क्रिकेट मैदानमा १५० रनको लक्ष्य पछ्याउन उत्रिएको चितवनले पूरा २० ओभरमा ८ विकेट गुमाएर ६१ रन मात्रै बनाउन सक्यो । उसकी कप्तान ब्याटर हेलिसा गुरुङले ३० रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहन सकेन । यस्तै, सुरक्षा भण्डारी ८ तथा सुस्मा खड्का ७ रनम पेभिलियन फर्किए । बलिङमा भने काठमाडौँको तर्फबाट विपिशा शाही र खुशी डंगोलले ३-३ विकेट चट्काए । प्लेयर अफ दि म्याच घोषित शाहीले ४ ओभरको स्पेलमा जम्मा १६ रन खर्चिएकी थिइन् । उनलाई संस्कृति फुयाल र अस्मिना कर्माचार्यले एक-एक विकेट लिएर साथ दिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौँले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । काठमाडौँलाई सम्मानजनक स्कोरसम्म पुर्याउन कञ्चन श्रेष्ठले सर्वाधिक ३७ रन बटुलिन् । त्यस्तै, कप्तान सुमन खतिवडा ३३ रनमा नट आउट रहँदा आरति बिडारीले २८ रनको योगदान गरिन् । बलिङमा चितवनकी श्रेया शर्माले २ तथा हेलिसा गुरुङ, एञ्जल प्रधान र अनिषा मजाकोटीले १-१ विकेट लिन सफल भए । मंगलबार नै खेलिएको पहिलो खेलमा ललितपुरले भक्तपुरलाई १७६ रनले हराएको थियो ।
तीन खेलबाट ६ अंक बटुलेको काठमाडौँले आफ्नो पक्षमा शतप्रतिशत नतिजा निकालेको छ । उसले अंकतालिकामा पनि शीर्ष स्थानमा रहँदै लिगको सुखद अन्त्य गरेको हो । दोस्रो स्थानको ललितपुरले भने ३ खेलमा दुई जीत र एक हारसहित ४ अंक बटुलेको हो । प्रतियोगितामा समान तीन खेल खेलेको चितवनले भने दुईमा हार र एकमा जीतको नतिजा निकाल्यो । अंकतालिकामा पुछारमा रहेको भक्तपुरले पनि सबै तीन खेल गुमाउन पुगेको हो ।
यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले वाग्मती प्रदेशको तर्फबाट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रधानमन्त्री कप महिला क्रिकेट आगामी पुस ३ देखि ११ गतेसम्म धनगढीमा खेलिने तालिका रहेको छ ।





