काठमाडौं, २८ मंसिर ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति छान्नका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा सहयोगको आग्रह गर्न नेता शेरबहादुर देउवा र डा. शेखर कोइरालाले भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्री देउवा प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेका छन् ।
पहिलो चरणको निर्वाचनमा सभापतिमा तेस्रो मत ल्याएका सिंहलाई दोस्रो चरणमा आफूलाई सहयोग गर्न भन्नका लागि प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन् ।
पहिलो चरणमा विजेता बन्नका लागि देउवालाई ८८ मत कम भएको थियो। उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा शेखर कोइराला रहेका छन् । अब दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो चरणमा सभापतिमा तेस्रो र चौंथो मत ल्याएका सिंह र विमलेन्द्र निधिले जसलाई सघाउँछन्, उही विजेता बन्ने अवस्था छ। यस्तोमा देउवाले सिंहलाई फकाउने प्रयास गरेका हुन् ।
देउवाले सिंहलाई फकाउन मतपरिणाम घोषणा नहुँदै विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँडलाई चाक्सीबारी पठाएका थिए। त्यसपछि आफै पुगेका हुन्।
यसअघि, देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलले लैनचौरमा महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका थिए । जहाँ कार्यकर्ताले उनको विरोधमा नारा लगाएका थिए ।
त्यसैगरी सभापति पदका अर्का प्रत्यासी डा. शेखर कोइरालाले पनि प्रकाशमान सिंहलाई भेटेर सहयोगका लागि आग्रह गरेका छन् ।
सभापतिका पाँच उम्मेदवार मध्ये अधिकमत मत ल्याउने शेरबहादुर देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रस्तिपर्धा हुने भएपछि पहिलो चरणबाट बाहिरिएका निर्णायक प्रत्यासी सिंहसँग चाक्सीबारी पुगेर भेट गरेका हुन् । कोइरालाअघि देउवाका दूत गृहमन्त्री बालकृष्ण खाँडले पनि सिंहलाई भेटेका थिए ।
कोइराला निकट नेताका अनुसार कोइरालाले अर्का प्रत्यासी विमलेन्द्र निधिसँग टेलिफोनमा कुराकानी गरेका छन् । र उनलाई भौतिक रुपमै भेट्न कोइराला निधि निवास पुगेका छन् ।




