भन्न त भन्छन्
पाका पुरानाहरु
चिताएको पुग्छ रे
को चाहँदैन होला र
विश्वासको देउता
आँगनसम्म आओस्
साक्षात्कार होस्
भलाकुसारी होस्
स्वागतार्थ सजाइएको मन्दिर
प्रज्वलित दीप
नजर लगाओस्
अहँ
कहिल्यै मिलेन
चिताएको देउताको दर्शन
पाका पुराना ए बा
ए आमा
तिम्रै शिक्षाको अनुसरण गरेर
चिन्दै नचिनेको त्यो देउता भेट्ने
मनोकाक्षांको दीप
कहिलेसम्म बालिरहुँ
आशाको तेल कति थपिरहुँ
अब एकपटक मलाई
दीपावली गरिएका घर-घर पुगेर
सोध्न मन छ
भन न सखी
तिमीले बोलाईरहँदा
कुनै देउताले तिमीसँग
म आउँछु भनेको छ ?
मैले झैँ दीपावली गरेर
तिमीले पर्खिएर बसेकी छ्यौ ?
गैंडाकोट नगरपालिका, नवलपरासी (बसुपूर्व)





