भरतपुर, ७ साउन ।
तीन हप्ता अघि भरतपुरबाट हराएकी गैँडाकोटकी बिना सापकोटाको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । असार १४ गतेदेखि बेपत्ता बिनाको अवस्था अहिलेसम्म अज्ञात नै रहेको उनका बुबा जयश्वर सापकोटाले बताए । बिना उनका प्रेमी प्रवेशसँगै गैँडाकोटस्थित घरबाट निस्किएकी थिइन् । “घरबाट स्कूटीमा निस्किएकी छोरी अहिलेसम्म फर्केकी छैन”, जायश्वरले भने, “केही घण्टामा ल्याइदिने भन्दै प्रवेशले लगेका थिए तर फर्किइनन् ।”
प्रवेशका विरूद्ध अहिले प्रहरीमा दुईवटा उजुरी छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग प्रवेशले भरतपुरको चौबीसकोठीबाट बिना एकाएक हराएको बयान दिएका छन् । “म चौबीसकोठीमा एटिएममा पैसा निकाल्न लागेका बेला कता गइन्, पछि भेटिइनन् । उनको मोबाइल पनि मैसँग थियो”, प्रवेशले बयानमा भनेका छन् ।
सुजिता मृत्यु प्रकरण
राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरण पनि रहस्यमय छ । गत असार ११ गते घरबाट एकाएक सम्पर्कविहीन भएकी सुजिताको शव असार २० गते घरभन्दा चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीमा भेटियो । शव भेटिएसँगै उनकी आमा अम्बिका भण्डारीले छोरीको अपहरणपछि हत्या भएको दाबी गरिन् ।
सुजिता हराएपछि उनको मोबाइलबाट दिदी कवितालाई फोन गरी आफू अपहरणमा परेको जनाएको अम्बिका बताउँछिन् । “छोरीको अपहरणपछि हत्या भएको हो”, उनको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले गत असार २४ गते पत्रकार सम्मेलन गरेर सुजिताको घटनामा अपहरणको प्रकृति मेल नखाने बताएका थिए । “अपहरणको चरित्र केका लागि भन्ने खुलेन । घरका परिवारसँग सहज रुपमा टेलिफोन संवाद भैरहनु पनि अपहरणको चरित्रभित्र पर्दैन”, प्रहरी उपरिक्षक अधिकारीले भने ।
शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा गरिएको पोष्टमार्टम रिपोर्टमा पनि सुजिताको शरीरका कुनै पनि अङ्गमा चोटपटक नभएको उल्लेख भएकाले हत्या नभएको स्पष्ट गर्छ । मृत्युको कारणबारे थप अनुसन्धानका लागि अहिले मृतकको भित्री अंगहरुको भिसेरा परीक्षण भैरहेकोले यसको रिपोर्ट आएपछि थप स्पष्ट हुने उपरीक्षक अधिकारीले बताए ।
भेटिन्छन् हराएका
जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७७/७८ मा १८ वर्षमुनिका ७९ जना बालिका हराएकोमा ७४ जना भेटिएका छन् । १८ वर्षमाथिका २०८ जना महिला हराएकोमा १७८ जना भेटिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा हराएका ९० बालिकामा ८८ जना भेटिएको र २३७ महिलामा २३२ जना भेटिएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय चितवनमा छ ।
लामो समयदेखि महिला अधिकारका क्षेत्रमा बहस पैरवी गर्दै आएकी अधिवक्ता फूलमाया रानाभाट चितवनमा हराएका बालिका तथा महिलाहरुको प्रहरीमा आएको तथ्य नै अपूरो भएको दाबी गर्छिन् । “प्रहरीमा त हराएको उजुरी लिएर आउनेको मात्रै तथ्य भेटिन्छ, घरबाटै हराएका तर कतै पनि उजुरी नदिएका महिलाहरुको अवस्था कसलाई थाहा हुने ?”, उनले भनिन्, “घरमा महिला हराएपछि हाइसञ्चो मान्ने वा घरको इज्जत बाहिर जान्छ भनेर भन्न नचाहने परिवार उजुरी लिएर प्रहरीकोमा पुग्दैनन् ।”
घरबाट हराएका महिलाहरु कति आफै विवाह गरेर गएका, कति वेचविखन तथा बन्धकमा परेका अधिवक्ता रानाभाटको दाबी छ । “घरबाट हराएका महिला कतिपय खाडी मुलुकमा समेत पुर्याएर बन्धक बनाएको अवस्था पनि छ”, उनी भन्छिन्, “कतिपय भारतका वेश्यालयहरुमा बेचिएका छन् ।”
जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलकी प्रमुख प्रहरी निरिक्षक कमला मराल हराएका सबै महिला तथा बालिका प्रहरीको सूचनामा नआएको हुन सक्ने स्वीकार्छिन् । उनी भन्छिन्, “एक घर छोडेर दोस्रो घर बिहे गरी जाने महिला हुन् वा परिवारको सहमति बेगर वैदेशिक रोजगारीमा जाने महिला, उनीहरु घरबाट हराएपनि प्रहरीमा उजुरी नआएको हुनसक्छ ।”





