निषेधाज्ञाका बावजुद चितवन ट्राफिकद्वारा ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन

भरतपुर, ७ श्रावण ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गएको आर्थिक वर्ष २०७७–७८ मा ३ करोड ३० लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले उक्त आ.व.भरि कूल ३८ हजार ६२२ वटा कारबाहीबाट सो संख्यामा राजस्व संकलन गरेको हो ।

कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा संकलित राजस्व पछिल्लो तीन वटा आर्थिक वर्षयता संकलित सर्वाधिक राजस्व रकम हो । कार्यालयका अनुसार आ.व. २०७५–७६ मा ४० हजार २९ वटा कारबाहीबाट ३ करोड ६ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसपछिको आर्थिक वर्ष २०७६–७७ मा भने २ करोड ३१ लाख ४ हजार रुपैयाँ संकलन गरिएको थियो । पछिल्लो चार वटा आर्थिक वर्षलाई हेर्ने हो भने २०७४–७५ मा सबैभन्दा धेरै ३ करोड ३६ लाख ८७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । गएको आर्थिक वर्षमा आ.व. २०७४–७५ को तुलनामा ६ लाख ५० हजार ५०० रुपैयाँ कम राजस्व संकलन गरिएको हो ।

कार्यालयका अनुसार कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न समयमा बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरिँदा कारबाही हुने दर पनि घटेको हो । २०७४–७५ र २०७५–७६ दुवै आर्थिक वर्षहरूमा कूल कारबाहीको संख्या ४० हजार नाघेको थियो । सरकारले देशमा महामारीको पहिलो लहर चलिरहँदा २०७६ चैत्र ११ गतेदेखि २०७७ भाद्रको अन्तिमसम्म कडा र खुकुलो लकडाउन जारी गरेको थियो । यस्तै दोस्रो लहर सुरु भएपछि गत २०७८ वैशाख १६ गतेदेखि अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको थियो । हाल सरकारले जनस्वास्थ्यका मापदण्ड पूरा गरेर छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिएपनि सवारीसाधनहरू पूर्ण क्षमतामा चल्न थालिसकेका छैनन् ।

आर्थिक वर्ष २०७७–७८ भर भएका ट्राफिक कारबाही र संकलित राजस्वलाई विभिन्न चौमासिकमा विभाजन गर्ने हो भने पनि निषेधाज्ञा र बन्दाबन्दी खुकुलो भएको अवधिमा कारबाहीको संख्या पनि बढेको देखिएको छ ।

२०७७ श्रावणदेखि कार्तिकसम्म गरिएका ९ हजार ९ सय ५० वटा कारबाहीबाट ८० लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै, सोही वर्षको मंसिरदेखि फाल्गुन महिनासम्म १९ हजार ३५ वटा कारबाही भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । त्यस अवधिमा १ करोड ५९ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७७–७८ को अन्तिम चौमासिकमा भने जम्मा ९ हजार ६ सय ३७ कारबाही भएका छन् । कारबाहीको संख्यामा गिरावट आउँदा संकलन भएका राजस्व पनि घट्न पुगेको छ । उक्त चौमासिकमा ९० लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७७–७८ को पहिलो र तेस्रो चौमासिक चलिरहँदा सरकारले कोरोना महामारी नियन्त्रण गर्न सवारीसाधनको आवागमनमाथि रोक लगाएको थियो । दोस्रो चौमासिकको अवधिभर भने निषेधाज्ञा हटाइसकिएको थियो । जसकारण सडकमा चालकहरूको लापरवाही फेरि बढ्न पुगेको हो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–७८ मा अघिल्लो आ.व.को तुलनामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या भने बढ्न पुगेको छ । आर्थिक वर्ष २०७७–७८ मा ४३५ वटा सवारी दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । ती दुर्घटनामा १२८ जनाको मृत्यु हुँदा २९० जना गम्भीर घाइते भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट