भरतपुर, ७ साउन ।
पश्चिम चितवनको शारदानगरमा गोली लागेको अवस्थामा मृत भेटिएका नेपाली सेनाका एक हुद्दा घर विदामा रहेको नेपाली सेनाले जनाएको छ ।
भरतपुर महानगरपालिका–१७ सिमलडाँडास्थित नहरमा ३६ वर्षीय भरत गुरुङको शव भेटिएको हो । धादिङको निलकण्ठ नगरपालिका स्थायी घर भएका गुरुङ महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौँमा कार्यरत थिए ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लव पौडेलले गुरुङ ५/६ दिनदेखि घर बिदामा रहेको बताए । ‘उनी विधिवत् तरिकाले घर विदामा रहेका थिए । घटनाको अनुसन्धानमा नेपाली सेनाले पूर्ण सहयोग गर्नेछ’, प्रवक्ता पौडेलले भने ।
प्रहरीले गुरुङको गोली हानी हत्या भएको हुनसक्ने आशंका गरेको छ । घटनास्थलमा गोलीको खोका भेटिएको र मृतक गुरुङको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





